
बागलुङ, १९ फागुन । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङको प्रथम जिल्ला अधिवेशन शनिबार सम्पन्न भएको छ ।
अधिवेशनको उद्घाटन गर्दै नेपाली काँग्रेस केन्द्रीय सदस्य किरणराज पौडेलले काँग्रेसलाई चलायमान र गतिवान बनाउनका लागि भातृ संगठनहरु चुस्त र गतिवान हुनुपर्ने बताए । ‘पार्टीलाई जनताका माझमा बलियो बनाउनका लागि काँग्रेसले विभिन्न भातृ तथा सुभेच्छुक संस्थाहरु निर्माण गरेको छ,’उनले भने,‘पार्टीलाई सही गतिमा अगाडि बढाउनका लागि भातृ संस्थाहरु चलायमान हुनुपर्छ । यसले पार्टीको गरिमा बढाउने कुरामा ध्यान दिनुपर्छ ।’
उनले नेपाली काँग्रेस देशको हरेक परिवर्तनको संवाहक पार्टी भएको र देशको विकासका लागि पनि काँग्रेसले नै भूमिका खेल्ने बेला आएको उनको भनाई छ । ‘हरेक परिवर्तनमा काँग्रेसले निर्णायकले खेलेको छ,’उनले भने,‘देश विकासमा पनि काँग्रेसले नै भूमिका खेल्नुपर्नेछ । हाम्रो आम कार्यकर्ताले जनतामा आशा जगाउने काम गर्नुपर्छ । उदाहरण बनेर समाजलाई अगाडि बढाउनुपर्छ ।’ कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य जितबहादुर शेरचनले नेपाली काँग्रेसलाई बलियो बनाउनका लागि लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले महत्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघका केन्द्रीय प्रतिनिधि मोहन छन्त्याल लगायतले मन्तव्य राखेका थिए । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ बागलुङका कार्यवाहक अध्यक्ष खिम पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत नेपाली काँग्रेस जिल्ला सल्लाहकार सदस्य कृष्णशंकर श्रेष्ठ, र सञ्चालन नेपाली काँग्रेस ताराखोला गाउँपालिका—१ का सभापति सागर घर्तीले गरेका थिए । अधिवेसनले खिम पुनको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा भीमबहादुर रोका, तमसम राना, सचिवमा लालकुमार शेरचन, हिराकुमारी छन्त्याल, सहसचिवमा सहसचिवमा टेकबहादुर सिंजाली, दिलकुमारी घर्ती रहेका छन् । समितिको सदस्यहरुमा निरा थापा, सुदिक्षा थापा, शोभा छन्त्याल, टिकाराम पुन, कृष्ण अठारे, दलबहादुर घर्ती, नरबहादुर थापा, पूर्ण बहादुर थापा र प्रकाश गुरुङ लगायत रहेका छन् ।










