
बागलुङ, १७ फागुन । दैनिक गरिने योगले शारीरिक र मानसिक स्वास्थ्यलाई स्वस्थ गराउने योग बिद्हरुले बताएका छन् । बागलुङको पञ्चकोटमा जारी अनन्तश्री ब्रह्माण्डीय महायज्ञको आठौं दिन योग तथा खेल सम्मेलनमा बोल्ने बक्ताहरुले नेपाल योगको भुमि भएको बताउँदै योगले मानिसको शारिरिक तथा मानसिक स्वास्थ्यलाई स्वस्थ बनाउने बताएका हुन् ।
सम्मेलनमा बोल्दै प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगरले समृद्ध देशको लागि जनताहरु आर्थिक र मानसिक रुपमा स्वस्थ र समृद्ध हुनुपर्ने बताइन । ‘हामीले समृद्धिको कुरा गर्दछौं,’ उपसभामुख रानाले भनिन्,‘जबसम्म जनता आर्थिक र मानसिक रुपमा स्वस्थ र समृद्धि हुँदैनन् तबसम्म देश समृद्ध हुँदैन । जनता मानसिक रुपमा स्वस्थ हुनको लागि योग गर्नु आवश्यक रहेको छ ।’ अहिलेको आवश्यकता स्वस्थ सोच, स्वस्थ आहार, स्वस्थ शरिर र स्वस्थ संस्कार रहेको उपसभामुख रानाले भनाई छ ।
उनले खेलकुद देशको लागि महत्वपूर्ण रहेको बताइन । ‘युवाहरुको असिमित उर्जालाई दिशा र मार्ग दिनलाई खेलकुद महत्वपूर्ण रहेको छ,’ उनले भनिन्,‘खेलकुद मार्फत देशको नाम र देशको सान विश्व माझ पुग्दछ । अहिले क्रिकेट, फुटबल, भलिबल, माउन्टेन बाइक लगायतका खेललाई देशको सानको रुपमा हेरिएको छ ।’
उनले राजनीतिमा राम्रो स्वास्थ्य संस्कार बनाएर लैजानुपर्ने बताउँदै त्यसको लागि योगले हामीलाई काम गर्ने बताइन । उनले राष्ट्र उन्नतीको लागि पञ्चकोटमा बनाइएको पूर्वाधार र योजनाहरु उत्कृष्ट रहेको बताइन । ‘आज महायज्ञमा आउँदा पञ्चकोटमा बनाइएका पर्यटकीयस्थलहरु अवलोकन गरे,’ उनले भनिन,‘विश्वमा भइरहेका द्वन्द्वहरुको अन्त्य हुनुपर्छ भनेर यहाँ महायज्ञ समेत लगाइएको छ । राष्ट्र उन्नतीको लागि पञ्चकोटमा बनाइएको योजना उकृष्ट रहेको छ ।’
उपसभामुख रानाले देशका हरेक विषयलाई चयन गरेर प्रत्येक दिन सम्मेलन भइरहेकोमा महायज्ञ आयोजक टोलीलाई धन्यवाद समेत दिइन । ‘राज्यले गर्नुपर्ने काम एउटा महायज्ञमा भइरहेको छ,’ उनले भनिन्,‘यो राज्यले गर्नुपर्नेमा महायज्ञमा भएकोमा धन्यवाद ज्ञापन गर्दछु ।’
योग–ध्यान आरोग्य सञ्जाल नेपालका अध्यक्ष डा. सुवास घिमिरेले योग गर्नले सवास्थ्य आफै स्वस्थ हुने बताएका छन् । अध्यक्ष घिमिरेले भने,‘सोच बद्नुहोस् खुसी आफै मिल्छ स्वभाव बदल्नुहोस् इज्जल आफै मिल्छ । योग गर्नुहोस् स्वास्थ्य आफै मिल्छ । सहीबाटो समात्नुहोस् बाटो आफै मिल्छ ।’ योग नभइकना खेलकुद सम्भव नभएको उनको भनाई छ ।
अध्यक्ष घिमिरेले नेपाल योगको भुमि रहेको बताए । उनले भागवत गितामा पनि योगलाई सफलता र कार्यकौशलता विकास गर्न सहयोग पुग्ने विश्लेषण गरिएको बताउँदै योग जीवनको अपरिहार्य कार्य भएको बताए ।
योग नभइ खेलकुद सम्भव नभएको अध्यक्ष घिमिरेको भनाई छ । ‘योग नभइ खेलकुद सम्भव छैन,’ उनले भने,‘योग नभइ कुनै कुरा सम्भव नभएको अहिले मेडिकल साइन्सले प्रमाणित गरेको छ ।’ योगको विकास गरेर हरेक मान्छे यौगिक हुन सकेमा देशलाई कसैले विकास गर्न नपर्ने र देश आफै विकास हुने घिमिरेले बताए । उनले आचार, आहार,विश्राम र विकास सुधार गरेमा जीवन सफल हुने भनाई राखेका थिए ।
योग तथा खेलकुद प्रबद्र्धन सम्मेलनका संयोजक योग विज्ञ डा चिन्तमणी गौतमले योगको स्वास्थ्य प्रति अथाहा योगदान रहेको बताए । उद्योगपति अजयराज सुमार्गीले ऊँ उचारणले शक्ति प्रदान गर्ने बताए । यस्तै बालअभियन्ता प्रेन्सा रेग्मीले योगको कारणले धेरै रोगहरुको निको हुने बताउँदै योगले शारीरिक तथा मानसिक स्वास्थ्य राम्रो बनाउने बताइन । उनले योगले अनुशासन सिकाउने बताउँदै अनुशासन विनाको जीवन व्यर्थ रहेको र योग विनाको जीवन पनि व्यर्थ रहेको बताइन ।
सम्मेलनमा योग गुरुहरुद्वारा योग तथा तेक्वान्दो, उसु, कराँते लगायतका खेलाडीहरुले खेलको डेमो प्रस्तुत गरेका थिए ।










