बागलुङ, ६ फागुन । नेपाल पत्रकार महासंघ बागलुङ र धवलागिरि क्याम्पस बीचको मैत्रीपूर्ण फुटबल खेलमा पत्रकार महासंघ बागलुङ विजयी भएको छ ।
धवलागिरि बहुमुखी क्याम्पस बागलुङको ६१ औं वार्षिकोत्सवको सन्दर्भमा आईतबार बिहान भएको मैत्रीपूर्ण फुटबलमा प्रतियोगितामा पत्रकार महासंघ बागलुङले १—० गोलले क्याम्पस परिवारलाई पराजित गरेको हो । धवलागिरि क्याम्पसको टिमबाट स्वतन्त्र विद्यार्थी युनियन, प्राध्यापक, कर्मचारी र विद्यार्थी संगठनका सदस्यहरु खेलेका थिए ।
नेपाल पत्रकार महासंघ बागलुङको जितका लागि एक मात्रै निर्णायक गोल संगम घर्तीमगरले गरेका थिए । २०—२० मिनेटको निर्धारित समयमा सयमा दुबै समुहबाट गोलरहित बराबरीमा टुंगिएपछि खेल १० मिनेटको अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको दोस्रो हाफको तेस्रो मिनेटमा पत्रकार महासंघ बागलुङको लागि संगम घर्ती मगरले गोल गरेका थिए । घर्तीले क्याम्पस टिमको डि बक्स भित्र पाएको मौकालाई सदुपयोग गर्दै महासंघको जित पक्का गरेका हुन् ।
खेलको निर्धारित समयमा दुबै तर्फका गोलरक्षकले केही उत्कृष्ट प्रहार बचाएका थिए । खेलको दोस्रो हाफमा डि बक्स बाहिरबाट संगम घर्तीले गरेको शक्तिशाली प्रहार धवलागिरि क्याम्पसको गोलरक्षक मनिष थापाले विफल पारे । दोस्रो हाफको सुरुवातमा पत्रकार महासंघका लागि सनम किसानले गरेको गोल रेफ्रीले अफसाइड दिए । रोहन जिसीले गरेको प्रहार पोलमा लागेर बाहिरियो । महासंघका लागि रोहन जिसी, सचदेव क्षेत्रीले केही मौका सिर्जना गरे पनि गोलमा परिणत हुन सकेन । धवलागिरि क्याम्पसका लागि अतिरिक्त समययको पहिलो हाफमा विशेष पराजुलीले गरेको प्रहार महासंघका गोलरक्षक विष्णु पन्तले जोगाए ।
क्याम्पसको तर्फबाट अन्य केही अवसरको सिर्जना गर्ने प्रयास गरे पनि महासंघका डिफेन्डर विजय राना, अर्जुन कार्की र ताराप्रसाद शर्माले असफल पारिदिए । खेलको सुरुवातदेखि नै खेल नियन्त्रणमा राखे पनि महासंघले गोल गर्नका लागि भने अतिरिक्त समयको दोस्रो हाफसम्म कुर्नु परेको थियो ।