बागलुङ, २० मंसिर । नेकपा एमालेले सुरु गरेको समृद्धिको लागि संकल्प यात्रा–२०८० अन्तरगत अध्यक्ष केपि शर्मा ओली सहितको टोली बुधबार बागलुङ आइपुगेको छ ।
बुधबार दिउँसो कर्णाली प्रदेशको पूर्वी रुकुम हुँदै गण्डकी प्रदेशको बागलुङ जिल्ला आइपुगेको टोलीलाई सिमाना पातिहाल्नेमा नेकपा एमाले गण्डकी प्रदेशका इन्चार्ज गोकर्ण विष्ट सहितको एमालेको टोलीले स्वागत गरेको थियो । स्वागत लगत्तै निसीखोला गाउँपालिकाको केन्द्र झीवाखोलामा भेटघाट र स्वागत कार्यक्रम गरिएको थियो । उक्त कार्यक्रममा पूर्व प्रधानमन्त्री ओलीलाई स्थानीयहरुको माग र त्यहाँको आवश्यकताको बारेमा ज्ञापनपत्र बुझाइएको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले जनताको राय, सुझाव र सल्लाह लिनको लागि मध्यपहाडी लोकमार्गमा स्थलगत पदयात्रा गरिएको बताउँदै जनताको दुःख र सुखमा एमाले साथमै रहेको बताउनुभएको थियो ।
आजै ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजारमा भेटघाट तथा सभामा बोल्दै अध्यक्ष ओलीले मध्यपहाडी लोकमार्गको यात्रा गर्दा पश्चिम बागलुङमा भेडा पालनको राम्रो सम्भावना देखिएको बताउनुभयो । उहाँले ऊन र मासुको लागि स्थानीयहरुले भेडा पालनबाट आर्थिक बृद्धि गर्न सक्ने सम्भावना देखिएको बताउनुभयो ।
यस्तै आजै बागलुङको बडिगाड गाउँपालिकाको ग्वालिचौर बजार र खर्बाङ बजारमा अध्यक्ष ओली सहितको टोलीलाई स्वागत गरिएको थियो । बडिगाडबाट गुल्मीको वामिट्क्सार पुगेको टोलीलाई भव्य स्वागत गरिएको थियो । उक्त बृहत् जनसभा कार्यक्रमको सम्बोधन गर्दै ओलीले देश अफ्ठ्यारो अवस्थामा रहेको बताउनुभएको छ । उहाँले वर्तमान सरकारका कारण देशमा रोजगारीका अवसर गुमेको र अत्यन्त अफ्ठ्यारो अवस्थामा पुगेको बताउनुभयो ।
अध्यक्ष ओलीले देश चलाउन एमाले पार्टीबाहेक अरुको विकल्प नरहेको बताउनुभयो । उहाँले देशको विकास र जनताको पक्षमा काम गर्न एमालेलाई बहुमतले जिताउनुपर्ने बताउनुभयो । मिसन ८४ लाई सफल पार्न एमाले जनताको सुझाव संकलन गर्दै जनताको घरदैलोमा पुगेको उहाँको भनाइ छ ।
बुधबार साँझ गलकोट नगरपालिका आइपुगेको टोलीलाई गलकोटमा पनि भव्य स्वागत गरिएको थियो । गलकोटको कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सरकारमा रहँदा देश विकासको काम गरेको जनताले देखेको बताउँदै अरु दल सरकारमा हुँदा काम हुन नसकेको बताउनुभयो । ओली सहितको टोली आज गोलकोटमै बस्ने नेकपा एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसीले बताउनुभयो ।
उहाँले बिहिबार काठेखोला गाउँपालिकामा स्वागत र बागलुङ नगरपालिकाको सभामा ओलीको सम्बोधन पछि टोलीलाई पर्वतको लागि विदाई गरिने जानकारी दिनुभयो ।
तस्विरहरु: