चिसोले जाजरकोटमा थप एक जना भूकम्प पीडितको मृत्यु

जाजरकोट, १२ मंसिर । त्रिपालमा बस्दै आएका जाजरकोटका एक भूकम्प पीडितको चिसोका कारण ज्यान गएको छ। बारेकोट गाउँपालिका-७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइको मंगलबार ज्यान गएको वडाध्यक्ष विशाल किरण बस्नेतले बताए ।

दुई वर्षअघि प्यारालाईसिस भएर थलिएका उनी भूकम्प घरमा क्षति पुर्‍याएपछि त्रिपालमा बस्दै आएका थिए । एक सातादेखि ज्वरो आउने र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएका उनको मृत्यु भएको वडाध्यक्ष बस्नेतले बताए ।

उपचारका लागि स्वास्थ्य संस्था लैजाने तयारी गर्दै गर्दा उनको ज्यान गएको बस्नेतले बताए । उनको मृत्युसँगै चिसोबाट ज्यान गुमाउनेको संख्या १६ पुगेको छ। चिसोले वृद्धवृद्धा, दीर्घरोगी, सुत्केरी, गर्भवती र बालबालिका बढी प्रभावित भएका छन् ।

गत कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प जाँदा जाजरकोट र रुकुममा गरी एक सय ५४ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका महामारी फोकल व्यक्ति कृष्णबहादुर खत्रीका अनुसार जिल्लाभर ५ वर्षमुनिका १२ हजार ४ सय ४ बालबालिका प्रभावित छन् ।

यस्तै एक हजार ८ सय ८३ जना गर्भवती भूकम्पबाट प्रभावित भएका छन् भने एक हजार ७६ सुत्केरी प्रत्यक्ष प्रभावित भएका छन् । त्यस्तै ६ हजार २६ जेष्ठ नागरिक (७० वर्ष माथिका), एक हजार ८ सय ३२ दीर्घरोगी र ८ सय ५० अपांग गरी २२ हजार २ सय ६ जना प्रत्यक्ष प्रभावित भएका छन् ।

रुकुम पश्चिममा ५ वर्षमुनिका बालबालिका ५ हजार ५ सय ६७ जना प्रभावित भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ । गर्भवती १ हजार ६८ जना, सुत्केरी ७ सय ३९ जना भूकम्पका कारण प्रभावित भएको कार्यालयका सूचना अधिकारी कालीबहादुर वलीले बताए ।

उनका अनुसार जिल्लाभर ३ हजार ७ सय ८१ जना ज्येष्ठ नागरिक भूकम्पबाट प्रभावित भएका छन्। ५ सय ९६ दीर्घरोगी र ५ सय १६ अपांगता भएका पनि समस्यामा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here