संविधान र संघीयताविरोधी विरुद्ध एकजुट हुन देउवाको निर्देशन

बागलुङ, १७ कार्तिक । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा संघीयताको विरुद्धमा प्रहार भइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

नेपाली कांग्रेस बागलुङको ऐतिहासिक जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै शुक्रबार पार्टी सभापति देउवाले संघीयताको विरुद्धमा लाग्ने शक्तीका विरुद्ध लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिएका हुन् । उनले संविधानको रक्षा गर्ने दायित्व कांग्रेसको भएकोले संविधान र संघीयताको कार्यान्वयन गरेर छाड्ने बताए ।

देउवाले पछिल्लो समय आइरहेका अफवाहप्रति विश्वास नगर्न पनि कार्यकर्तालाई आग्रह गरे । ‘पछिल्लो समय संविधान र संघीयताको विरुद्धमा केही शक्तिले विभिन्न अफवाह फैलाएका छन्,’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने,‘संविधान र संघीयताको विरुद्धमा आउने अफवाहहरु प्रति विश्वास नगर्नुहोला ।’

नेपाली कांग्रेस, सबै पार्टी र शिर्ष नेताहरूको संलग्नतामा यो संविधान जारी भएको र त्यसलाई सबैले कार्यान्वयन गर्ने देउवाको भनाइ छ । ‘कसैले चाहँदैमा संविधान र संघीयता विफल हुँदैन,’ उनले भने,‘कांग्रेसको दायित्व संविधानको रक्षा गर्नु र कार्यान्वयन गराउनु हो । त्यसैले संविधान कार्यान्वयन गराउन सबै नेता कार्यकर्ताले एक जुट बन्नुपर्छ ।’

उनले कांग्रेस देशको ठूलो दल भएको बताउँदै आगामी निर्वाचनमा पनि ठूलो दल बनाउने घोषणा गरे । उनले कार्यकर्तालाई पनि सोहीअनुसार लाग्न आग्रह गरे । पार्टीभित्र बेकारका माग आउँदा आफूले बेवास्ता गरेको भन्दै देउवाले जायज माग सम्बोधन गरेर अगाडी बढीरहेको दाबी गरे । ‘ठूलो पार्टीमा केही असन्तुष्टि हुन्छन्, जायज माग सम्बोधन हुन्छन्,’ उनले भने, ‘बेकारका माग आए वेवास्ता गरेर अगाडि बढ्ने हो ।’

सम्मेलनमा १ सय ५ जना ७५ वर्ष काटेका ज्येष्ठ कार्यकर्ता र सशस्त्र द्वन्द्व तथा अन्य आन्दोलनका सहिद परिवारलाई सम्मान गरिएको छ । शुक्रबारबाट सुरु भएको सम्मेलनमा भाग लिन १ हजार ६ सय प्रतिनिधि र अतिथि गरेर दुई हजार कार्यकर्ता जिल्ला सदरमुकाम आएका छन् । दुई दिनसम्म चल्ने सम्मेलनमा पहिलो दिन उद्घाटनसहित सम्मान लगायतका कार्यक्रम भएको र दोस्रो दिन क्षेत्रीय प्रतिनिधिबाहेकका १ सय २० जना कार्यकर्तालाई प्रशिक्षण दिइने जिल्ला सचिव हरिहर शर्माले जानकारी दिए ।

उनले महामन्त्री विश्वप्रकाश शर्मा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य लगायतले संविधान, संघीयता, पार्टीको संगठन र विकास एवं उद्यममा युवाको संलग्नता बारेमा प्रशिक्षण गर्ने बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here