बागलुङ, १६ कार्तिक । शुक्रबार हुने नेपाली काँग्रेस बागलुङको जिल्ला सम्मेलनको सम्पूर्ण तयारी पुरा भएको छ ।
नेपाली काँग्रेस जिल्ला कार्यसमिति बागलुङले बिहिबार पत्रकार सम्मेलन गरेर जिल्ला सम्मेलनको सम्पूर्ण तयारी भएको जनाएको हो । जिल्ला सम्मेलन शुक्रबार र शनिबार बागलुङ बजारमा हुँदै छ ।
सम्मेलनको उद्घाटन पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने जिल्ला अध्यक्ष जित शेरचनले बताए । उनले सम्मेलनको पहिलो दिन उद्घाटन सत्र, जिल्ला सभापतिको राजनीतिक दस्तावेज र सचिवको प्रतिवेदन पेश हुने बताए । यस्तै दोस्रो दिन प्रशिक्षण कार्यक्रम हुने अध्यक्ष शेरचनले जानकारी दिए । जिल्ला सम्मेलनमा पार्टीलाई सहयोग गर्ने ज्येष्ठ नागरिक र द्वन्द्वकालमा काँग्रेसलाई सहयोग गरेको र काँग्रेसको कार्यकर्ता भएकोले ज्यान गुमाउनुपरेका परिवारलाई सम्मान गरिने जनाएको छ ।
जिल्ला सभापति शेरचनले तीन शिर्षकमा प्रशिक्षण गरिने बताए । उनले पार्टीका नेता कृष्णप्रसाद सिटौलाले संविधानको कार्यान्वयन, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विकासको बारेमा र कांग्रेसका केन्द्रीय सदस्य मधु आचार्य पार्टीको संगठनको बारेमा प्रशिक्षण गर्ने बताए । उनले संघियताको बारेमा पछिल्लो समय प्रश्न उठेको कारणले कार्यकर्तालाई बुझाउनुपर्ने भएकाले संविधानको कार्यान्वयनको बारेमा प्रशिक्षण गर्न लागिएको बताए ।
जिल्ला सम्मेलनमा १ हजार ६ सय प्रतिनिधिहरु सहभागि हुने सचिव हरिहर शर्माले बताए । उनले पहिलो दिन उद्घाटन समारोहमा सवै १ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुने भएपनि दोस्रो दिन प्रशिक्षणमा क्षेत्रिय प्रतिनिधि बाहेक १ सय २० जनालाई मात्र प्रशिक्षण दिइने जानकारी दिए । जिल्ला सम्मेलनमा ७, ८ लाख रुपैयाँ खर्च हुने र उक्त रकम पार्टीका शुभेच्छुकबाट र पार्टीका सदस्यबाट लेबी रकमबाट संकलन गरिने बताए ।
पत्रकार सम्मेलनमा सभापति शेरचनले पार्टीको भवन निर्माणको काम २५ प्रतिशत सम्पन्न भएको बताए । उनले भवन निर्माण अभियानमा जापानबाट ६० लाख रुपैयाँ संकलन भएको जानकारी दिए । यस्तै भवन निर्माणको लागि ८ करोड लाग्ने बताउँदै हालसम्म १ करोड ४७ लाख रुपैयाँ सहयोग संकलन गरिसकेको अध्यक्ष शेरचनले बताए ।