पोखरा, १८ असोज । नेकपा एमाले गण्डकी प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदान सकिएको छ । मध्यान्ह ११ः५५ बजेदेखि सुरु भएको मतदान साढे ५ बजेसम्म चल्ने तालिका सार्वजनिक भएपनि ४ घण्टा बढी समयसम्म चल्यो ।
८ सय ९६ मत खसेको छ । १० जना अनुपस्थित रहे । आधिकारिक जानकारी दिन बाँकी छ । निर्वाचनमा विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिएको थियो । विभिन्न क्लस्टरमा मतदान गर्नुपर्ने र इलेक्ट्रोनिक भोटिङ गर्न प्रतिनिधि अभ्यस्त नहुँदा निकै समय खर्चिएको देखियो । एक जनालाई १५ मिनेट लाग्ने अनुमान गरिएकोमा एक घण्टा भन्दा बढी समय लगाएको पनि देखियो । त्यसैले निर्धारित समयमा आधाले पनि मत हाल्न पाएनन् र निर्वाचन समितिले सहमतिमै समय थप गरेको हो ।
मतदानमा ३३ वटा विद्युतिय भोटिङ मेसिनको प्रयोग गरिएको छ । अब मतगणनाको तयारी थालिएको छ । विद्युतिय भोटिङ मार्फत मतदान भएकोले गणना सुरु भएको एक घण्टामा सबै नतिजा आउने निर्वाचन समितिले जनाएको छ ।
अध्यक्षमा नवराज शर्मा र मायानाथ अधिकारी नेतृत्वका लागि प्रतिस्पर्धामा छन् । शर्मालाई उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र अधिकारीलाई स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षको समर्थन छ । शर्मा तर्फ उपाध्यक्षमा बाबुराम विश्वकर्मा र मीनप्रसाद गुरुङको उम्मेदवारी परेको छ । विक खगराज र गुरुङ पृथ्वीसुब्बा प्यानलका उम्मेदवार हुन् ।
सचिवमा लमजुङका धनञ्जय दवाडी, कास्कीका रश्मि आचार्यले उम्मेदवार छन् । दवाडी पृथ्वीसुब्बा र रश्मि खगराज प्यानलबाट हुन् । उपसचिवमा दामबहादुर विक र सन्तोष रावल चुनावी मैदानमा छन् । विक पृथ्वीसुब्बा र रावल सन्तोषनिकट हुन् ।
उपसचिव महिलामा मञ्जु अधिकारी र मिना गुरुङको प्रतिष्पर्धा छ । अधिकारी पृथ्वीसुब्बा र गुरुङ खगराज प्यानलका हुन् ।
मतदानस्थलमा आचारसंहिता विपरितका गतिविधि देखिए । प्यानल बनाएर चुनाव लड्न नपाउने पार्टीको निर्देशन विपरित दुवै तर्फ प्यानल नै बनाइयो । प्रतिनिधिहरुले खल्ती खल्तीमा हालेर हेर्दै मत दिए । केही उम्मेदवारको नाम दुवै प्यानलमा देखिए । यसले उनीहरुलाई फाइदा मिल्ने देखिएको छ ।