बागलुङ, १२ असोज । नेपाली चलचित्र परदेशी–२ को बागलुङमा आज (शुक्रबार) ‘विशेष शो’ हुने भएको छ ।
चलचित्रका नायक प्रकाश सपुतले गृह जिल्ला बागलुङमा ‘विशेष शो’ गर्न लागेको जानकारी दिएका छन् । सपुतले सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो पहिलो चलचित्र भएकोले निर्देशक नारायण रायमाझी र निर्माता राजेश वंशल लगायतको टिमले बागलुङमा चलचित्रको ‘विशेष शो’ गर्ने निर्णयले उत्साहित भएको बताएका छन् ।
बागलुङको बिएसआर मुभिजमा दिउँसो ३ बजे विशेष शो हुने भएको हो । विशेष शोको लागि परदेशी–२ का निर्देशक नारायण रायमाझी, नायिका केकी अधिकारी, नायक प्रकाश सपुत लगायतको टोली शुक्रबार दिउँसो बागलुङ आउन लागेको बताइएको छ ।
विशेष शोको लागि शुक्रबार दिउँसो २ बजेबाट टिकट खुल्ला गरिने बिएसआर मुभिज बागलुङले जनाएको छ । व्यवसायिक मर्यादा कायम रहोस् भनेर केही सिमित सिटको लागि टिकट बुकिङ खुल्ला गरिएको नायक सपुतले जानकारी दिए ।
विशेष शो अगाडी नायक सपुत सहित चलचित्रको टिमलाई बागलुङमा स्वागत गरिने भएको छ । सपुतको जन्मगाउँ काठेखोला गाउँपालिका–३ धम्जाका स्थानीय र बागलुङ बजारबासीले नायक सपुत लगायत परदेशी–२ को टिमलाई स्वागत गर्ने कार्यक्रम रहेको पत्रकार दिल शिरिषले जानकारी दिए ।
वरिष्ठ लोक तथा दोहोरी गायक नारायण रायमाझी निर्देशित परदेशी–२ असोज २६ गतेबाट देशभर प्रदर्शनमा आउँदै छ ।
उच्च शिक्षाका लागि विदेशीने क्रम बढ्दो कथालाई चलचित्रको मुख्य भागमा राखिएको निर्देशक नारायण रायमाझीले जानकारी दिएका छन् ।
युवापुस्तामा बढ्दो विदेश मोहको कथामा आधारित चलचित्रलाई रमेश बिजीले लेखेका हुन् । प्रकाश, केकी र वर्षा सिवाकोटीका साथमा चलचित्रमा प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सुशील पोखरेल, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ । प्रकाशको यो डेब्यु चलचित्र हो । विभिन्न हिसाबले यो चलचित्रलाई प्रतीक्षित चलचित्रका रूपमा हेरिएको छ ।