अमेरिका साम्राज्यवाद विरुद्ध जनमोर्चाको ‘मेची–महाकाली अभियान’ सुरु

बागलुङ, १ जेठ । राष्ट्रिय जनमोर्चाले अमेरिकी साम्राज्यवादका विरुद्ध ‘मेची–महाकाली अभियान’ बागलुङबाट सुरु गरेको छ ।

केन्द्रिय कार्यक्रमअन्तरगत पहिलो दिन बागलुङमा कार्यक्रम सहित अभियान थालिएको हो । जनमोर्चाले अमेरिकी साम्राज्यवादबाट मुलुकको राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डतामाथि खतरा देखिएकोले जनजागरण अभियान संचालन गर्नुपरेको जनमोर्चाले जनाएको छ ।

सोमबार अभियानको उद्घाटन गर्दै राजमोका पूर्व केन्द्रिय सचिव कृष्ण अधिकारीले अमेरिकाले सुष्म अध्ययनको लागि संसदमा राजनीतिक दल मार्फत प्रवेश गरेको बताए । उनले गणतन्त्रका लागि लडेका पुस्तालाई बदनाम गरेर निरंकुशता भित्राउने खेल भएमा हुन नदिने गरी लड्न चाहेको बताए ।

राज्यको कमजोर अवस्थामा अमेरीकी साम्राज्यवाद संसदमा पुग्ने कोशिस गरेको अधिकारीको भनाई छ । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको माध्यमबाट अमेरीकी साम्राज्यवाद संसदमा पुगेको आरोप लगाए । अधिकारीले जराबाट पलाएकाले नगरेको टुप्पोबाट पलाएकोले नगर्ने बताए ।

अधिकारीले अमेरिकाले नेपाललाई प्रयोग गरेर चिनमा आक्रमण गर्ने तयारी गरिरहेको बताए । ‘अमेरिकाले नेपालमा एउटा दीर्घकालीन योजनाअनुसार काम गरिरहेको छ,’ अधिकारीले भने,‘अमेरिकाको अहिलेको मुख्य उद्देश्य नेपाललाई त्यसको इण्डोप्यासिफिक रणनीतिअन्तर्गत ल्याउनु हो । त्यो रणनीतिको उद्देश्य चीनलाई घेराबन्दी गर्नु र चीनका विरुद्धको युद्धमा नेपाललाई आफ्नो युद्धको अखडा बनाउनु हो ।’

उनले सरकारले हाल संचालन गरेको भ्रष्टाचार बिरुद्धको अभियानमा साथ दिने बताए । तर, उनले गणतन्त्रका लागि लडेका पुस्तालाई बदनाम गरेर निरंकुशता भित्राउने खेल भएमा हुन नदिने गरी लड्न चाहेको बताए । ‘राजतन्त्रभन्दा गणतन्त्र राम्रो हो, तर अझै हामी यहाँ सन्तुष्ट हुने होइन’ उनले भने, ‘इसाइकरण र बिभिन्न नारा दिएर राजनीतिक आवरणमा पसेका अमेरिकीबिरुद्ध आवाज उठाउनु पर्छ ।’

राजमोले अभियान जेठ १ गतेदेखि १५ गतेसम्म संचालन गर्ने बताएको छ । अभियानका लागि अधिकारी नेतृत्वले बागलुङबाट पर्वत, पोखरा, नवलपुर, चितवन, पालुङटार हुँदै मनवानपुर पुग्ने योजना बनाएको छ । यस्तै हिमलाल पुरीको नेतृत्वको टोलीले बारादेखि पर्सा, रौतहट, सर्लाही, सिरहा, विराटनगर, इटहरी, सुनसरी, झापा, सिन्धुली, बनेपा, काभ्रेपलाञ्चोक, भक्तपुर, ललितपुर, काठमाडौंमा कार्यक्रम गर्नेछ ।

केन्द्रीय महासचिव मनोज भट्ट नेतृत्वको टोलीले महेन्द्रनगरबाट बेलौरी, धनगढी, अत्तरिया, दिपायल, डडेलधुरा, डोटी, गुलरिया, बर्दिया, बाँके, नेपालगञ्ज, सुर्खेतमा कार्यक्रम गर्नेछ ।

त्यस्तै, दुर्गा पौडेल नेतृत्वले तुलसीपुर, दाङ, प्युठान, अर्घाखाँची, कपिलबस्तु, वुटवल, पाल्पा, गुल्मी, सुनवल, तानसेन लगायतको स्थानमा कार्यक्रम गर्नेछ । जेठ १५ गते सबैको साझा कार्यक्रम काठमाण्डौंमा गर्ने योजना बनेको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष राजेन्द्र ढुंगानाले जानकारी दिए ।

राजमोका जिल्ला अध्यक्ष राजेन्द्र ढुंगानाको अध्यक्षता, सचिव भीमलाल पोखरेलको संचालन र उपाध्यक्ष लक्ष्मी बास्कोटाको स्वागतमा सम्पन्न अभियानको शुभारम्भ कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख तथा राजमोका केन्द्रीय सल्लाहकार अमर थापा, युवा संघका केन्द्रीय सल्लाहकार तेजबहादुर थापा, अखिल छैठौंका केन्द्रय उपाध्यक्ष गणेश अधिकारीले अभियानको उद्देश्यमाथी प्रकाश पारेका थिए । अभियान लिएर हिंडेको टोलीले सोमबारै पर्वत सदरमुकाम कुश्मामा पनि कार्यक्रम गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here