प्रदेश बलियो बनाउन केन्द्रको राजनीतिको प्रभाव पर्नु हुँदैनः मुख्यमन्त्री अधिकारी

बागलुङ, ११ फागुन । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेश बलियो बनाउन केन्द्रको राजीतिकको प्रभाव प्रदेशमा पर्न नहुने बताएका छन् ।

नेपाल पत्रकार महासंघ बागलुङले बिहिबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री अधिकारीले भने,‘ प्रदेश बलियो हुने होभने केन्द्रको अस्थिर राजनीतिको प्रभावको कारणले प्रदेशमा सोझै प्रभाव हुने जस्तो अहिले जुन राजनीतिक अवस्था छ त्यो हुनुहुँदैन ।’

उनले प्रदेशका समस्याको समाधान गर्ने परिपाटीकाका साथ संघियता ल्याएको बताए । ‘संघियता हामीले ल्याएको हो कसैले दिएको होइन,’ मुख्यमन्त्री अधिकारीले भने,‘ यहाँभित्र समस्या हुन्छ समाधान गर्ने परिपाटीका साथ संघियता ल्यायौं । संघियता भनेको प्रदेश संरचना हो ।’

मुख्यमन्त्री अधिकारीले नयाँ संरचनालाई कसरी प्रभावकारी बनाउन सक्छौं भन्ने विषयमा सवैको ध्यान जान जरुरी रहेको बताए । ‘जहाँ छौं, जसरी गछौं, जे काम गछौं हाम्रो प्रदेशलाई बलियो बनाउनमा गछौं’,’ उनले भने,‘यो नयाँ संरचनालाई तपाइ हामले ल्याएर कसरी प्रभावकारी बनाउन सक्छौं त्यस विषयमा हामी सवैको ध्यान जान जरुरी छ ।’ उनले प्रदेशका केही सिमाहरु रहेको बताए । साझा सुचिमा सुत्रबद्ध भएका अधिकार भन्दा आफ्ना एकल अधिकार थोरै रहेको मुख्यमन्त्री अधिकारीको भनाई छ ।

मुख्यमन्त्री अधिकारीले प्रहरी समायोजन सम्बन्धी ऐन कार्यक्रम, संघिय निजामती ऐन कार्यक्रम, बित्तिय केन्द्रीकरणको उचित व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई भेटेर सुझाव दिएको बताए । उनले प्रदेशले आफ्नो औचित्य पुष्टि गर्ने चुनौतीलाई सामना गर्दै अगाडी बढेको बताए । ‘हामीले १४ वटा मन्त्रालयलाई घटाएर आधा गराएका छौं,’ मुख्यमन्त्री अधिकारलिे भने,‘ नजिकको सरकारले जनताको जिउधनको सुरक्षा गर्ने, मध्यमखालका विकास निर्माण गर्ने, अन्तर प्रदेश समन्वय परिषदको बैठक राखेर प्रदेशका समस्याहरुको समाधान तर्फ केन्द्रीय सरकारलाई ध्यानकर्षण गराउने, पूँजीगत खर्च या उत्पादन तर्फ अगाडी बढाउने गरी जान सकेमा औचित्य पुष्टि हुन्छ ।’

मुख्यमन्त्री अधिकारीले केन्द्रको पछिल्लो राजनीतिक घटनाक्रमले देश अस्थिरता तिर जान्छ की भन्ने रहेको बताए । ‘गठबन्धन गरेर चुनाव लडेपछि देश अस्थिरता तर्फ जान्छ भनेर हामीले भनेको हो,’ मुख्यमन्त्री अधिकारीले भने,‘अहिले ति अस्थिरताका सम्भावनाहरु कमजोर बनुन भनेर हामीले सरकार गठन गरेर तेस्रो शक्तिलाई प्रधानमन्त्री मानेर अगाडी बढेको हो । घरीघरी जुन कुराहरु सुनिन्छन् तिनले जनताको मनोविज्ञानमा राम्रो प्रभाव दिएको छैन, अस्थिरता तिर जान्छ की भन्ने छ ।’

नेपाल पत्रकार महासंघ बागलुङका कार्यवहाक अध्यक्ष नविन शिशिर विकको अध्यक्षतामा सम्पन्न भएको पत्रकार सम्मेलनको स्वागत सहसचिव सिर्जना पन्त र संचालन सहसचिव तारानाथ आचार्यले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here