
बागलुङ, १३ माघ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) का केन्द्रीय अध्यक्ष सुनिता बरालले मुलुकमा शान्ति र समृद्धिका लागि अनेरास्ववियूको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ ।
अनेरास्ववियू बागलुङको १९ औं जिल्ला अधिवेशनको शुक्रवार उद्घाटन पछि बोल्दै अध्यक्ष बरालले प्रतिनिधिसभाका सदस्य समेत रहेकी बरालले सक्षम, सबल र अनुभवी नेतृत्वलाई अघि बढाएर जिल्ला, प्रदेश र राष्ट्रमै विद्यार्थीको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
विद्यार्थी मुलुक निर्माणमा आधार स्तम्भ हुन, विद्यार्थीहरुलाई मुलुक निर्माणका अभियानमा सक्रिय र सक्षम बनाउन सबै राजनीतिक दलहरुले उनीहरुको सहभागिता र क्षमता विकासमा ध्यान दिएर उनीहरुलाई असल नेतृत्वकर्ता बनाउन बरालले सुझाव दिनुभयो । ‘मुलुक निर्माणका लागि युवा जनशक्तिको भूमिका बढाउनका लागि विद्यार्थी संगठनहरुको सक्रियता आवश्यक हुन्छ,’ अध्यक्ष बरालले भन्नुभयो,‘अनेरास्ववियूले विद्यार्थीहरुलाई समाज रुपान्तरणका क्षेत्रमा सचेतता पूर्वक अगाडि बढ्न नेतृत्वदायी भूमिका निर्वाह गर्दै आइरहेको छ ।’
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज गोविन्द बहादुर नेपाली, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज डा.सूर्य पाठक, एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य कृष्ण पाठक, अनेरास्ववियूको केन्द्रीय उप–महासचिव नरेश रोकाया, एमाले बागलुङका अध्यक्ष हिरा बहादुर केसी, सचिव विष्णु भुषाल, अनेरास्ववियू केन्द्रीय सचिवालय सदस्य तथा गण्डकी प्रदेश सहइन्चार्ज आर्शिवाद सुवेदी, केन्द्रीय सदस्य तथा बागलुङ जिल्ला इन्चार्ज शेखर (झलक) खड्का, केन्द्रीय सदस्य तथा जिल्ला सहइन्चार्ज शिव शर्मा, अखिल नेपाल महिला संघ बागलुङका अध्यक्ष लक्ष्मी बोहोरा लगायतले शुुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा अनेरास्ववियू बागलुङका पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रम अनेरास्ववियू बागलुङका संयोजक रोशन कुँवरको अध्यक्षता, जिल्ला सचिवालय सदस्य रोशन जिसीको सञ्चालन र धौलागिरी बहुमुखी क्याम्पस प्रारम्भिक कमिटिका अध्यक्ष अनिल शर्माको स्वागतमा सम्पन्न भएको थियो ।
अधिवेशनले अनेरास्ववियू जिल्ला समिति निर्वाचन गर्ने कार्यक्रम रहेको जिल्ला सचिवालय सदस्य रोशन जिसीले जानकारी दिनुभयो ।