निर्वाचित केसीलाई पाठकले दिए बधाई

बागलुङ, ९ मंसिर । नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य पाठकले बागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका विजयी उम्मेदवार राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्र बहादुर केसीलाई बधाई दिएका छन् ।

केसीका निकटतम प्रतिस्पर्धी रहेका पाठकले बिहिबार केसी बसेको होटलमा पुगेर बधाई दिएका हुन् ।

पाठकले केसीलाई बधाई दिदै राष्ट्रिय राजनीति अलिकति खलबलिन्छ की जस्तो देखिएको बताएका छन् । पाठकले केसीको उपस्थितिले नेपालको राष्ट्रिय राजनीति सुखद बन्नेछ भनेर शुभकामना समेत दिएका छन् । ‘यहाँको उपस्थितिले राष्ट्रिय राजनीति सुखद बनोस्,’ पाठकले केसीलाई भने,‘दल प्रतिविश्वास जागृत बनोस् ।’

पाठकले जिल्लामा विकास निर्माणका कामहरु प्रारम्भ भएको र त्यसलाई पूर्णता दिन केसीलाई सुझाव दिएका छन् ।

पाठकले सामाजिक सञ्जाल फेसबुकमा आफुले चुनाव हारेपनि बागलुङले संसदमा हार्नु नहुँने बताउँदै नयाँ एजेण्डा लिएर आएका युवाहरुसँग निर्वाचित केसीले हार्नु हुनेछैन भन्ने विश्वास व्यक्ति गरेका छन् । पाठकले फेसबुकमा लेखेका छन्,‘मैले चुनाब हारे, बागलुङले संसदमा हार्नु हुँदैन । नयाँ एजेण्डा लिएर आएका युवाहरु संग चित्र बहादुर ज्युले हार्नु हुनेछैन भन्ने कुरामा पुर्ण बिश्वस्त ।’

यस्तै पाठकले गठबन्धनको राप र तापका बीच भएको निर्वाचनमा आफुलाई विश्वास गरेर अमूल्य मत दिने जनताप्रति आभार तथा धन्यवाद व्यक्ति गरेका छन् । उनले आगामी दिनमा बागलुङका जनताको सेवामा लागि रहने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा पाँच दलिय गठबन्धनका साँझा उम्मेदवार रहेका जनमोर्चाका केन्द्रीय अध्यक्ष केसी विजयी भएका हुन् । केसीले २१ हजार ४५१ मत ल्याएर निर्वाचित भएका हुन् । निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार सुर्यप्रसाद पाठकले १८ हजार ८२५ मत प्राप्त गरेका थिए ।

बागलुङ–१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार खिमानन्द कंडेलले ९ हजार १८१ मत प्राप्त गरे । यस्तै राप्रपाका लक्ष्मीप्रसाद सापकोटाले ९ सय ३, नेपाली काँग्रेस (वि.पि)का शिवलाल सापकोटाले १ सय २५ र स्वतन्त्र चन्द्र बहादुर क्षेत्रीले १ सय ९३ मत प्राप्त गरे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here