बागलुङमा ५३ दशमलब ५६ प्रतिशत मत खस्यो

बागलुङ, ४ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा बागलुङमा ५३ दशमलब ५६ प्रतिशत मतदान भएको छ ।

२ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र चार प्रदेशसभा निर्वाचन क्षेत्र रहेको बागलुङमा एक लाख ९२ हजार २२७ मतदाता मध्ये एक लाख २ हजार ९६३ मतदाताले मतदान गरेको जिल्ला निर्वाचन कार्यालय बागलुङका प्रमुख यज्ञ रिजालले जानकारी दिए ।

जिल्लाभरी शान्तिपूर्ण रुपमा चुनाव सम्पन्न भएको मुख्य निर्वाचन अधिकृत डा. दिवाकर भट्टले बताए । उनले जैमिनी नगरपालिका वडा नम्बर ४ सर्कुवाको जनता मावि मतदान केन्द्रमा केहि समय विवाद भएर रोकिए पनि सर्वदलिय बैठक बसेपछि सुचारु भएको जानकारी दिए । उक्त मतदान स्थलमा हस्ताक्षर नभएको मतपत्र भेटिएपछि एकसमुहले मतपत्र च्यातेका थिए । दिउँसो २ बजे मतपत्र च्यातिएपछि प्रहरीले मतपेटिकाहरु नियन्त्रणमा लिएका थिए । केहि समयमा सर्वदलिय बैठक बसि पुनः मतदान प्रक्रिया सुचारु गराइएको थियो ।

मुख्य निर्वाचन अधिकृत भट्टले मतदानस्थलबाट मतपेटिकाहरु मतगणनास्थलमा ल्याउने कार्य भइरहेको बताए । उनले मतदान सम्पन्न भएपछि अहिले क्षेत्र नम्बर १ को मुख्य निर्वाचन अधिकृतको कार्यालय बागलुङ बजार र क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालय बुर्तिबाङ बजारमा मतपेटिका ल्याईपु¥याउने काम भइरहेको बताए । उनले सर्वदलीय बैठक बसेपछि दुवै स्थानमा मतगणना सुरु हुने जानकारी दिए । उनले भोली (सोमबार) विहानदेखि मतगणना हुन सक्ने जानकारी दिए ।

बागलुङमा दुई प्रतिनिधिसभा सदस्यका र चार प्रदेशसभा सदस्यका लागि ३१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here