बागलुङ कारागारमा ९८ दशमलव ५ प्रतिशत मतदान

बागलुङ, ४ मंसिर । अस्थायी मतदान केन्द्र रहेको बागलुङ जिल्ला कारागारमा ९८ दशमलव ५ प्रतिशत मत खसेको छ । बागलुङ नगरपालिका–१ मा रहेको बागलुङ जिल्ला कारगारमा कायम गरिएको अस्थायी मतदान केन्द्रमा ६६ जना कैदीबन्दी र अस्थायी मतदाताले मतदान गरेका छन् ।

कारागार प्रमुख तथा निर्वाचन अधिकारी दिल बहादुर केसीले ९८.५ प्रतिशत मत खसेको बताए । उनले ६७ जना अस्थायी मतदाता मध्य ५१ जना कैदीबन्दी र १५ (कर्माचारी) अस्थायी मतदाता नामावलीमा नाम समावेश रहेको समेत गरी ६६ मत खसेको बताए । उनले १ जना कैदीबन्दी जिल्ला बाहिर रहेकोले मतदान गर्न नआएको बताए ।

बागलुङ जिल्ला कारागारमा हाल ११ महिलासहित १७२ जना कैदीबन्दी रहेका छन् । अन्य कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि मतदान गर्न पाएनन् ।

कारागारमा रहेका कैदीबन्दीहरुका लागि कारागारमै अस्थायी मतदान केन्द्र कायम गरिएको थियो । कारागार प्रमुख तथा निर्वाचन अधिकारी केसीले १ जना मतदाता जिल्ला बाहिर रहेकोले मतपेटिका भने बेलुकी ५ बजेसम्म नै मतदान केन्द्रमा राखिने बताए । उनले कारागारमा दलका प्रतिनिधिहरुको रोहवरमा मतदान कार्य सम्पन्न गरिएको बताए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here