नेपालको गुमेको भूमि फिर्ता ल्याउन एमाले नै चाहिन्छ : अध्यक्ष ओली

बागलुङ, २१ कार्तिक । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले सरकारले बाहेक अरूले नेपालको गुमेको भूमि फिर्ता ल्याउन नसक्ने बताएका छन्।

एमाले बागलुङले जिल्लाको बुर्तिबाङ बजारमा आयोजना गरेको चुनावी सभालाई (आज) सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालको गुमेको भूमि फिर्ता गर्न एमाले सरकारले मात्र सक्ने भएकाले एमालेलाई विजयी गराउनुपर्ने बताए।

दार्चुलामा पुगेर आफूले गुमेको भूमि फिर्ता गर्ने बताउँदा प्रधानमन्त्रीले बन्दुक लगेर सीमामा जानु भन्ने भाषण गरेको कुरा उठाउँदै गुमेको भूमि कसरी फिर्ता गर्ने भन्ने नै भुलेको उनको भनाइ छ।

एमालेले आगामी मंसिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने बताएका छन्। उनले राष्ट्र जोगाउनेलाई जिताउने वा भागबण्डामा रमाउनेलाई जिताउने त्यो जनताको हातमा रहेको बताए।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच छ महिना प्रचण्डको संगत गरेपछि बन्दुकको मात्र कुरा गरेको बताए।

‘यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, राष्ट्र जोगाउनेलाई जिताउने हो या गठबन्धन गरेर भागबण्डामा रमाउनेलाई जिताउने त्यो जनताको हातमा छ’ ओलीले भने ‘एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँ जनताका समस्या एमालेले मात्र बुझेको छ।’

अहिलेको सरकार नीतिगत भ्रष्टचारमा लिप्त भएको उनले आरोप लगाए। अध्यक्ष ओलीले सरकारले कार्यकर्ता पाल्ने गरी बजेट र कार्यक्रम नै नभएको ठाउँमा पैसा खर्च गरिरहेको बताए।

‘प्रधानमन्त्रीको अहिले प्रचण्डसँग संगत भएकाले होला बन्दुक बाहेक अरु बोल्न छोड्नुभएछ, अध्यक्ष ओलीले भने, ‘अरू देशहरू बीचको सीमा विवाद वार्ताबाट समाधान भएका छन्। हामीले पनि वार्ता गरेर गुमेको भुमि फिर्ता गछौं।’

जनताको दुःख, सुख सोही स्थानको नेतालाई मात्र थाहा हुने बताउँदै टुरिष्ट उम्मेदवारलाई सम्मान गर्न र स्थानीय उम्मेदवारलाई जिताउन आग्रह गरे।

बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा सत्ता गठबन्धनका उम्मेदवार देवेन्द्र पौडेललाई लक्षित गर्दै घुम्न आएको उम्मेदवारले जनताका दुःख नदेख्ने बताएका हुन्।

पौडेल बागलुङ क्षेत्र नं. १ का बासिन्दा हुन्। उनले एमालेको सरकार आएमा पूर्वपश्चिम रेलमार्गको खाका एमालेले बनाउने बताए।

‘हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आँफै चडेर आएँ’ ओलीले भन्नुभयो ‘अब पूर्वपश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ।’

बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभामा एमालेका तर्फबाट मञ्जु शर्मा चालिसे र पदेशसभा (ख)मा लक्ष्मण पुन उम्मेदवार रहेका छन्।

नेकपा एमाले बागलुङले आयोजना गरेको आमसभामा सम्बोधन गर्दै एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here