बजार क्षेत्रमा भेटघाटलाई तिब्र पार्दै एमाले उमेदवार हिरा केसी

बागलुङ, १६ कार्तिक । आगामी मंसिर चार गते हुने प्रदेशसभा निर्वाचनका लागि बागलुङ क्षेत्र नंं १ (क) मा एमालेका उमेदवार हिरा बहादुर केसीले मतदाता भेटघाटलाई तिब्रता दिनुभएको छ ।

मतदाताको अधिक संख्या रहेको बागलुङ नगरपालिकाअन्तरगत बजार क्षेत्रमा केसीको सक्रियता बढेको हो । प्रचार अभियानलाई गाउँ र बजार केन्द्रीत गरी सञ्चालन गरिएको र अधिकांश गाउँमा एक पटक पुगिसकेपछि बजार केन्द्रीत अभियान शुरु गरिएको केसीले जानकारी दिनुभयो ।

घर घरमा पुगेर मतदातासंग आर्शिवाद लिएको छु, मतदाताहरुको सल्लाह, सुझाव र आर्शिवादले अत्यन्तै उत्साह बढेको छ, केसीले भन्नुभयो, ‘चुनावमा जिताउने जिम्मा मतदाताको भयो, ५ वर्ष इमान्दारीताका साथ जनताको सेवा गर्ने काम मेरो भयो भनेको छु, मतदाताहरुले एकपटक सेवा गर्ने जिम्मेवारी दिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।’

राजनीतिक रुपमा एमालेले लिएको नीति, एमालेको नेतृत्व, एमालेले विकास निर्माणमा गरेका काम, राष्ट्रियता अखण्डताको संरक्षणमा एमालेको भूमिका जनताले राम्रोसँग बुझेको पाइयो, जनताले यसपटक एमालेलाई सत्ता सञ्चालनको जिम्मेवारी दिनआतुर देखिएको प्रचार अभियानका क्रममा आफुले पाएको केसीको भनाइ छ ।

केसी उमेदवार रहेको प्रदेशमा बागलुङ नगरपालिकाका ११ र काठेखोला गाउँपालिकाका ८ वटा गरी १९ वटा वडा रहेका छन् । एकसरो सबै वडामा पुगेर पार्टी कमिटिका बैठक, भेला गरेर निर्वाचन परिचालन समिति गठन गरिएको छ । अधिकांश वडामा प्रचार अभियानअन्तरगत वडा भेलाहरु पनि सकिएको र केहीमा बजार क्षेत्रको प्रचार सकेपछि जाने तयारी रहेको एमाले केन्द्रीय सदस्य तथा यस क्षेत्रका निर्वाचन परिचालन समितिका संयोजक इन्द्रलाल सापकोटाले जानकारी दिनुभयो ।

२०७० सालको निर्वाचनमा नेपाली कांग्रेसका हरि बहादुर खड्कासंग थोरै मतअन्तरले पराजित भएका केसी अहिलेसम्म राजकीय जिम्मेवारीमा पुग्नु भएको छैन । विद्यार्थीकालदेखि निरन्तर राजनीतिमा लागेर पनि राजकीय जिम्मेवारीमा नपुगेका केसीलाई यस पटक उक्त जिम्मेवारीमा पु¥याउन सिंगो एमाले पंक्ति जुटेको र मतदाताहरुले शुभेच्छा प्रकट गरेको एमाले जिल्ला सचिवालय सदस्य अमर बहादुर थापाले बताउनुभयो ।

एमाले उमेदवार हिरा बहादुर केसी सहित प्रतिनिधिसभामा डा.सूर्य पाठक र समानुपातिकतर्फका एमाले उमेदवारहरुलाई मत माग्न एमाले पोलिटव्यूरो सदस्य मन कुमारी केसी, केन्द्रीय सदस्य इन्द्रलाल सापकोटा, केन्द्रीय सदस्य कृष्ण बहादुर केसी, गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य जनक पौडेल लगायत प्रदेश, जिल्ला र पालिका कमिटीका सम्बन्धित भूगोलका नेता कार्यकर्ताहरु खटिएका छन् ।

सबै वडामा वडा स्तरीय निर्वाचन परिचालन समिति र सम्पर्क कार्यालय सञ्चालन गरी प्रचार तथा भेटभाट र निर्वाचन परिचालन व्यवस्थापन गरिएको जिल्ला कार्यालय सचिव समेत रहेका थापाले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here