राष्ट्रिय प्रतियोगीतामा खेलकुद विकास समिति भूमिका विहिन

अर्जुन कार्की
बागलुङ, १ कार्तिक । गण्डकी प्रदेशमा अहिले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता जारी छ । प्रतियोगिताको आयोजक हो राष्ट्रिय खेलकुद परिषद (राखेप) । प्रतियोगितामा स्थानीय पालिका, जिल्ला हुँदै प्रदेशबाट खेलाडी छनौट भइ अहिले राष्ट्रिय खेलकुदमा खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

जिल्ला स्तरी छनोट र प्रदेश स्तरमा खेलाडीको नेतृत्व गरेको जिल्ला खेलकुद विकास समितिहरु राष्ट्रिय प्रतियोगितामा भने भुमिका विहिन भएका छन् । आयोजक राखेपले जिल्ला खेलकुद विकास समितिलाई कुनै भुमिका नै दिइएको छैन । राखेपले आफुमातहतका जिल्ला समितिलाई वेवास्ता गर्दै स्थानीय पालिकालाई व्यवस्थापकको रुपमा चयन गरेको हो ।

बागलुङमा आईटिएफ प्रतियोगिता जारी छ । तर, जिल्ला खेलकुद विकास समितिलाई आईटिएफ प्रतियोगिता हुने भन्ने समेत राखेपले जानकारी दिएन । छनोट प्रतियोगिता सफता पूर्वक सम्पन्न गरेर प्रदेशस्तरीय छनोटमा खेलाडी पु¥याएको जिल्ला खेलकुद विकास समितिलाई आफ्नै जिल्लामा राष्ट्रिय प्रतियोगिता हुँदा जानकारी नदिएको अध्यक्ष कुमार खडकाले बताउनुभयो ।

अध्यक्ष खड्काले राखेपबाटै जिल्लामा राष्ट्रिय खेलकुद प्रतियोगिता हुँदा जिल्ला समितिलाई कुनै जानकारी नदिनुु र भुमिका विहिन बनाउनु राजनीतिक प्रतिशोध भएको बताउनुभयो । ‘राखेपले हामीलाई प्रतियोगिता हुँदैछ भनेर जानकारीसम्म दिएन’ उहाँले भन्नुभयो–‘पालिका, जिल्ला र प्रदेशमा जिम्मा दिनेले राष्ट्रिय प्रतियोगीतामा भूमीका विहिन बनायो ।’

बागलुङमा तीन वटा खेल प्रतियोगिता सञ्चालन गर्न राखेपलाई प्रस्ताव गरे पनि राखेप उदासिन भएको अध्यक्ष खडकाको भनाई छ । आईटिएफ तेक्वान्दो समितिसँग समन्वय विना आयोजना गरेको जिल्ला खेलकुद विकास समितिका सचिव तारा शर्माको भनाई छ ।

राखेपले आईटिएफ प्रतियोगिताको व्यवस्थापकीय जिम्मेबारी बागलुङ नगरपालिकालाई दिएको छ । राखेपले असोज ७ गते बागलुङ नगरपालिकाका नगरप्रमुखलाई पत्र लेखेर जिल्लामा आईटिएफ प्रतियोगिताको व्यवस्थापनको संयोजकको जिम्मेबारी दिएको थियो । राखेपले नगरप्रमुखको नेतृत्वमा प्रतियोगिता व्यवस्थापन आयोजना समितिको नेतृत्व नगरप्रमुखले गरेर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष, कार्यालय प्रमुख, सम्बन्धित खेलको जिल्ला अध्यक्ष, सुरक्षा प्रतिनिधि तथा नगर स्थित विभिन्न संघसंस्था समेतलाई सहभागिता गराएर समिति निर्माण गर्न अनुरोध गरेको छ ।

व्यवस्थापकको जिम्मेबारी पाएको बागलुङ नगरपालिकाले सदस्यमा जिल्ला खेलकुद विकास समितिका अध्यक्षलाई नराखेकोसचिव तारा शर्माको भनाई छ । प्रतियोगिताको उद्घाटन समारोहमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुमार खड्काले अध्यक्षता गरेका थिए । खड्काले नगरप्रमुखले आफुलाई अनुरोध गरेकोले अध्यक्षता गरेको बताउनुभयो ।

उद्घाटन समारोहमा अध्यक्षता गरेको खेलकुद विकास समिति त्यस पछि कुनै भूमिकामा छैन ।

प्रतियोगिताको उद्घाटन समारोहमा नगरप्रमुख बसन्त कुमार श्रेष्ठले अध्यक्षता गरेर शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देबेन्द्र पौडेल प्रमुख अतिथि बन्ने कार्यसूचि समेत बनेको थियो । प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेको पौडेल प्रमुख अतिथि बन्नको लागि बागलुङ बजार समेत आइपुगेका थिए । तर, अन्तिम समयमा पौडेललाई निर्वाचन आचारसंहिताको कारण प्रमुखअतिथि बन्न निर्वाचन आयोगले रोक लगाएपछि नगरप्रमुख श्रेष्ठ नै प्रमुख अतिथि बन्नुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here