नवौं राष्ट्रिय खेलकुदः महिला भलिबल आजदेखि

बागलुङ, २७ असोज । गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद अन्तरगत महिला भलिबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । म्याग्दी जिल्लाको बेनी बजारमा हुन महिला भलिबलको सम्पूर्ण तयारी पुरा भएको र आजदेखि प्रतियोगिताका खेलहरु हुने जिल्ला खेलकुद विकास समिति म्याग्दीले बताएको छ ।

महिला भलिबल प्रतियोगिता बेनीको खुल्लामञ्चमा हुने र खेलमैदान तयार गरिएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीले बताउनुभयो । उहाँले महिला भलिबल प्रतियोगिता सञ्चालन गर्न बेनीको खुलामञ्चमा खेलमैदानलाई व्यवस्थित गरिएको बताउनुभयो । उहाँले अभ्यास खेलको लागि र प्रतियोगिताको लागि भलिबलको कोर्ट तयार गरिएको, प्याराफिटमा रङ लगाउने र सरसफाइ गर्नेलगायत सबै तयारी सकिएको बताए ।

महिला भलिबलमा ७ प्रदेश र ३ विभागीयसहित १० टोलीको सहभागिता रहनेछ । सवै टिमहरु बेनीमा आइपुगेको अध्यक्ष केसीले बताए । प्रतियोगिताका खेल लिग कम नकआउटको आधारमा खेलाइने जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

भलिबल प्रतियोगिताको खेल तालिका (टाईसिट) सार्वजनिक गरिएको छ । महिलाको समूह ए मा नेपाल एपिएफ क्लब, कर्णाली र त्रिभुवन आर्मी क्लब छन् । समूह बीमा बागमती, प्रदेश १ र मधेश रहेका छन् । बागमतीमा होंगांजी न्यु डायमन्डका अधिकांश खेलाडी खेल्नेछन् ।

समूह सीमा नेपाल पुलिस क्लब र लुम्बिनी छन् । समूह डी मा आयोजक गण्डकी र सुदूरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् । हरेक समूहको शीर्ष दुई टोलीले क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्नेछन् । फाइनल कार्तिक २ गते हुनेछ ।

प्रतियोगिताको उद्घाटन खेल आज (बिहिबार) दिउँसो २ बजे गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेश विच हुने छ । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय टिमकी कप्तान अरुणा शाहीले गर्दैछिन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here