अर्जुन कार्की
बागलुङ, २१ भदौ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि बागलुङबाट स्थानीय तहका जनप्रतिनिधिहरु समेत उम्मेदवारको लागि सिफारिस भएका छन् ।
बागलुङ क्षेत्र नम्बर २ को प्रदेश ‘क’का दुई जना जनप्रतिनिधिहरुहरुलाई नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले प्रदेशसभा सदस्यको उम्मेदवारको लागि सिफारिस गरेको छ ।
बागलुङ जिल्लाको गलकोट नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष फमबहादुर खत्री र बडिगाड गाउँपालिका वडा नम्बर ५ का वडासदस्य राजिव घिमिरे प्रदेशसभा सदस्यको प्रत्यक्ष तर्फ सिफारिस भएका छन् । क्षेत्र नम्बर २ को प्रदेशसभा सदस्य ‘क’को प्रत्यक्ष तर्फ वडा अध्यक्ष खत्रीलाई नेपाली काँग्रेसले र वडा सदस्य घिमिरेलाई नेकपा माओवादी केन्द्रले उम्मेदवारको लागि सिफारिस गरेको हो ।
बैशाख ३० गते सम्म भएको स्थानीय तहको निर्वाचनमा वडा अध्यक्ष खत्री र वडा सदस्य घिमिरे निर्वाचित भएका हुन् । जनप्रतिनिधिमा निर्वाचित भएको ४ महिना नवित्दै उनीहरुलाई पार्टीले प्रदेशसभा सांसदको लागि सिफारिस गरेको हो ।
गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमलाल खत्रीले फमबहादुर खत्रीले आफु माननिय बन्न योग्य रहेकोले उम्मेदवारको लागि नाम टिपाएको बताउनुभयो ।
उहाँले २०४६ सालदेखि पार्टीको इमान्दार कार्यकर्ता भइ काम गरेको र अहिले जिल्ला कमिटीको सहसचिव समेत रहेको बताउँदै पार्टी भित्रको आन्तरिक छलफल हुने र इच्छा पत्र राख्ने ठाउँ समेत भएकोले आफुले यस पटक माननियको लागि उम्मेदवार बन्न इच्छा जाहेर गरेको बताउनुभयो । खत्रीले क्षेत्र नम्बर २ को प्रदेश ‘क’मा उम्मेदवारको लागि इच्छा राखेकाहरु मध्य आफु नम्बर १ रहेको बताउनुभयो । उहाँले जनताको विचमा बसेर काम गरिरहेको र पार्टीको काम समेत गर्दै आएकोले चुनाव जित्नको लागि उम्मेदवारको प्रमुख दाबेदार रहेको बताउनुभयो ।
पार्टीका सहसचिव समेत रहनुभएका खत्रीले भन्नुभयो–‘पार्टीमा काम गर्नेहरुले आफ्नो प्रमोसन खेजेका हुन्छन्, म माननियको लागि योग्य हो तर हालका लागि जनप्रतिनिधिको रुपमा काम गरिरहेकोले पार्टीले यस पटक टिकट नदिए अर्को पटकको लागि सशक्त दावेदारीे रहन्छ ।
बडिगाड गाउँपालिका–५ का वडा सदस्य घिमिरेले आफुले पार्टी कमिटी र स्थानीय नागरिकहरुसँग छलफल गरेर नै उम्मेदवारको सिफारिस भएको बताउनुभयो । उहाँले जनताको सेवा गर्ने भएकोले जनताको माग अनुसार जुन पदमा पनि उम्मेदवार बन्न सकिने बताउनुभयो । ‘पार्टी कमिटीले जिल्ला समन्वयमा जाने भनेर नै वडा सदस्यमा उम्मेदवार बनाएको हो,’ घिमिरेले भन्नुभयो–‘गठबन्धनका कारण समन्वयमा सम्भव भएन, अहिले पार्टी कमिटीमा छलफल हुँदा प्रदेशसभा सदस्यको लागि नाम टिपाउन भनेको र जनताले पनि आफ्नै भुगोलको र पार्टीमा काम गरिरहेकोलाई उम्मेदवार बन्नुपर्ने बताएकोले नाम टिपाएको हुँम ।’
घिमिरेले आफु जनताको नेता भएको र उनीहरुको माग अनुसार काम गर्ने भएकोले उनीहरुको माग अनुसार नै अगाडी बढ्ने बताउनुभयो । उहाँ बागलुङको क्षेत्र नम्बर २ मा सधै अन्य क्षेत्रका उम्मेदवारहरु उठ्दा क्षेत्रीय कुरा पनि उठेकोले क्षेत्रीय मनोविज्ञान र भावना अनुसार नै अहिले आफुले उम्मेदवारीको लागि तयारी गरेको बताउनुभयो । घिमिरेले पहिले पनि आफुले संघिय टिकट पाउँदा पार्टी कमिटीमा छलफल गरेर अग्रज नेताहरुलाई छोडेको बताउँदै यस पटक आफ्नो प्रमुख दावेदारी रहेको बताउनुभयो । उहाँले अन्य क्षेत्रको भएपनि क्षेत्र नम्बर २ बाट निर्वाचित भएका सांसदहरुले विकास निर्माणको काम गरिरहेपनि स्थानीय नागरिकहरुले अझै बढी काम गर्नको लागि र भेटेर सुख, दुःख राख्न पाइयोस् भन्ने मनोभावनाले अहिले सोही क्षेत्रको नागरिकलाई सांसद भएको हेर्ना चाहेको बताउनुभयो ।