
बागलुङ, १८ असार । गुठी युनाईटेड क्लब बागलुङले आयोजना गरेको अन्तर विद्यालय स्तरिय फुटसल प्रतियोगिताको उपाधि सिदार्थ शिक्षा सदनले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा सिदार्थले फ्युचर ब्राईटर बोर्डिङ्गलाई ६–३ गोलअन्तरले पराजित गर्दै उपाधि चुमेको हो । पहिलो हाफमा ४–१ गोलअन्तरले अग्रता बनाएको सिदार्थले दोस्रो हाफमा दुई गोल गर्दै दुई गोल खाएको थियो । सिदार्थलाई उपाधि जिताउन फाइनल खेलमा सौरभ गौतमले ४ गोल र दिप श्रेष्ठले २ गोल गरेका थिए । फ्युटरको लागि तिनेश जिसीले २ गोल र प्रविन कौशलले १ गोल गरेका थिए ।
प्रतियोगिताको उपाधि जिेतेको सिदार्थले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्योभने उपविजेता फ्युचरले ७ हजार ७ सय ७७ रुपैयाँमा चित्त बुझायो ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी सिदार्थ शिक्षा सदनका कप्तान जेनिस थापा मगर, सर्वोत्कृष्ट गोलरक्षक सिदार्थ शिक्षा सदनका सुखद भण्डारी घोषित भए । प्रतियोगितामा १४ गोल गरेका चिल्ड्रेन लाईफ निलोका बरदान थापा सर्वाधिक गोलकर्ता बने । प्रतियोगिताका विजेता टिम र खेलाडीलाई जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष कुमार खड्का, बागलुङ नगरपालिका–३ का वडाअध्यक्ष सनि केसी (लक्ष्मण) र जिल्ला फुटबल संघ बागलुङका अध्यक्ष जय राजभण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो ।
शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।