
बागलुङ, १५ असार । बागलुङको काठेखोला गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विकसहित तीन कर्मचारीविरुद्ध एकै दिन भ्रष्टाचारका तीनवटा मुद्दा दर्ता भएका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एउटा योजनामा अनियमितता भएको पुष्टि गर्दै विक, सब इन्जिनियर नवीन थापा, असिस्टेन्ट सब इन्जिनियर सनोज उपाध्यायविरुद्ध एउटै योजनाका तीन मुद्दा दर्ता गरेको हो।
अख्तियारले नालढुङ्गा खानेपानी योजनामा नापी किताब अनुसारको पाइप प्रयोग नगरिएको भन्दै विक, इन्जिनियर, सब इन्जिनियर लगायत ६ जनाविरुद्ध दुई मुद्दा बुधबार दर्ता गरेको हो ।
उक्त मुद्दामा एक उपभोक्ता समितिका अध्यक्ष रनबहादुर थापा, सचिव टेकनारायण पुन र कोषाध्यक्ष पार्वती थापालाई विपक्षी बनाइएको छ भने अर्को मुद्दामा सोही कर्मचारीसहित अर्को उपभोक्ता समितिका अध्यक्ष अम्मरबहादुर गुरुङ, सचिव चेलीमाया थापा र कोषाध्यक्ष गगनबहादुर कार्की विपक्षी रहेका छन् ।
सोही खानेपानी योजनामा अनियमितता भएको भन्दै बुधबार नै तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विक सहित १० जनाविरुद्ध अख्तियारले अर्को मुद्दा दर्ता गरेको छ ।
नालढुङ्गा खानेपानी योजनामा नै नापी किताब अनुसारको पाइप प्रयोग नगरेको, सडक मर्मत आयोजनामा अनियमितता भएको भन्ने उजुरी छानबिनका क्रममा कर्मचारीको मिलेमतोमा योजनाबद्ध रूपमा कानूनी प्रावधानलाई समेत बेवास्ता गरी योजनालाई स-साना टुक्रामा विभाजन गरी, दरभाउपत्र समेत नलिई सामान्य निवेदनको भरमा मात्र एक फर्मलाई एक वडाको जिम्मेवारी दिएको, सोही वडाको एकै साइटमा एकै अवधिमा अर्को फर्मलाई समेत जिम्मेवारी दिएको र अर्को फर्मबाट समेत काम भएको भनी नापी किताब तयार गरी रकम भुक्तानी गरेको अख्तियारले जनाएको छ।
अख्तियारले अधिकृत विक, सब इन्जिनियर नवीन थापा, असिस्टेन्ट सब इन्जिनियर सनोज उपाध्याय र लेखापाल खडानन्द कँडेलले सम्झौता अनुसार सुपरिवेक्षण गर्न, गुणस्तर कायम गर्न र यथार्थ कार्यको नाप जाँचका लागि सम्बन्धित साइट प्राविधिकलाई जिम्मेवारी नतोकी नापी किताबमा सही गरी सहमति जनाएको ठहर गरेको छ।
साथै कर्मचारीहरूले नगरेको कामको समेत झूटा बिल भरपाई बनाउन लगाई गलत मूल्याङ्कनमा प्रत्यक्ष सहभागी भएको अख्तियारको दाबी छ। उनीहरूविरुद्ध ७ लाख ९२ हजार ९९ रुपैयाँ बिगो कायम गरी असुल गर्न तथा कैद र जरिवाना माग गरिएको अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीले बताए।
उनका अनुसार सेभेन स्टेट बिल्डर्स बाग्लुङका प्रोपाइटर दीपेन्द्रबहादुर खड्कामाथि ३ लाख ५३ हजार १६२, अर्गेजा निर्माण सेवाका प्रोप्राइटर मसुमन अर्गेजा र सोही कन्स्ट्रक्सनका प्रतिनिधि एवम् काठेखोला कन्स्ट्रक्सनका प्रोप्राइटर टंकबहादुर कुँवरमाथि १ लाख ५१ हजार २१०, खुसु निर्माण सेवाका सूर्यबहादुर भण्डारीमाथि १ लाख ५१ हजार ९२२ रुपैयाँ बिगो कायम गरी जरिवानासहित कैद सजायको माग गरिएको छ । खुसु निर्माण सेवाका सूर्यबहादुर भण्डारी नेकपा एमाले काठेखोला–३ धम्जाका पार्टी सचिव हुन् ।
त्यसैगरी भण्डारी निर्माण सेवाको प्रोप्राइटर गणेशबहादुर भण्डारीमाथि १ लाख ५१ हजार ९२२, सातबीसे कन्स्ट्रक्सनका प्रोप्राइटर मनोज खड्का र काठेखोलाका सञ्चालक कुँवरमाथि १ लाख ३५ हजार ८०३ रुपैयाँ बिगो कायम गरी कैद सजाय तथा बिगो अनुसारको जरिबाना गरी बिगो समेत जफत गर्न अख्तियारले माग गरेको छ । भण्डारी निर्माण सेवाको प्रोप्राइटर गणेशबहादुर भण्डारी नेपाली काँग्रेस काठेखोला-२ भीमापोखराका वडा सभापति हुन् ।
तीनवटा मुद्दामा १९ जनालाई विपक्षी बनाएको अख्तियारले खानेपानी योजनामा अनियमितता भएको ३१ लाख ९५ हजार १४० रुपैयाँ उनीहरूबाट जफत गरी जरिवाना सहित कैद सजाय माग गरेको छ ।