
बागलुङ, ५ असार । जिल्ला निर्वाचन कार्यालय बागलुङले तीन स्थानबाट नयाँ मतदातानामावली संकलन तथा अद्यावधिक सुरु गरेको छ ।
स्थानीय तह निर्वाचनको घोषण पछि स्थगित भएको मतदातानामावली संकलन असार १ गतेदेखि जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय बुर्तिवाङबाट नामावली संकलन गर्न थालिएको हो ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको जिल्ला निर्वाचन कार्यालयका बागलृङका प्रमुख यज्ञप्रसाद रिजालले जानकारी दिए । स्थानीय तह निर्वाचन २०७९ को मिति घोषण भए पछि विस २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम सुरु भएको उनको भनाई छ ।
नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकले जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्नेछ ।
यो अवधिको क्रममा नाम दर्ता, विवरणको त्रुटी सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचित कार्यालयमा निवेदन दिन सकिनेछ । यस अघि आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम छुटेको भए फेरि नामदर्ता गराउन सक्ने उनको भनाई छ ।
पेसा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोवास गरिरहको तर आफ्नो स्थायी ठेगाना अर्काे जिल्लामा रहेको भएमा त्यस्तो व्यक्तिले नाम दर्ताका लागि आवश्यक प्रमाणसहित आफु रहेको जिल्ला निर्वाचन कार्यालयम निवेदन दिएमा निजको स्थायी ठेगानामा रहने गरी नामदर्ता गरिनेछ । बिहिरी जिल्लाका मतदाताकाले सक्कल नागरिता लिएर निर्वाचन कार्यालयमा जानुपर्ने छ ।