बागलुङ उद्योग वाणिज्य संघको अध्यक्षमा कंडेल सर्वसम्मत

बागलुङ, ५ असार । बागलुङ उद्योग वाणिज्य संको अध्यक्षमा नरेश कंडेल सर्वसम्मत निर्वाचित भएका छन् ।

संघको नयाँ नेतृत्वको लागि शनिबार मतदान अघिनै प्रतिस्पर्धी निर्माण कुमार श्रेष्ठ बासुले उम्मेदवारी फिर्ता लिएपछि कंडेल सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत भुमिश्वर गौतमले जानकारी दिए ।

उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि नेपाली काँग्रेस निकट व्यवसायीहरु कंडेल, श्रेष्ठ सहित राजन कुमार शाक्य, शशिकपुर श्रेष्ठले उम्मेदवारी दर्ता गरेका थिए । शाक्य र शशिकपुर श्रेष्ठले पहिले नै कंडेललाई समर्थन गरेको भन्दै उम्मेदवारी फिर्ता लिएपनि श्रेष्ठले शनिबार विहान उम्मेदवारी फिर्ता लिएका हुन् । नेपाली काँग्रेसले कंडेललाई अध्यक्ष बनाउन समन्वय गरेपछि श्रेष्ठ पछाडी हटेका हुन् । श्रेष्ठलाई काँग्रेस बाहेक नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका दलले समर्थन गरेपनि काँग्रेसले कंडेलको पक्षमा व्यवसायीहरुमा लविङ गरेपछि सर्वसम्मत नेतृत्व चयन भएको हो ।

कंडेल संघको पूर्वउपाध्यक्ष तथा निर्वतमान महासचिव भइ काम गरिसक्नुभएको छ । यस्तै संघको उद्योग सदस्य तर्फ निलेश राजभण्डारी र ऋषिराम गौतम सर्वसम्मत निर्वाचित भएका छन् । उद्योग सदस्यमा उम्मेदवारी दर्ता गराएका वविन शाक्यले शनिबार उम्मेदवारी फिर्ता लिएपछि राजभण्डारी र गौतम सर्वसम्मत निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत गौतमले बताए ।

यस्तै खुल्ला सदस्यमा अर्जुन चोखाल, विष्णु पन्त, श्रीजय श्रेष्ठ, नवीनकुमार श्रेष्ठ, उमाकान्त शर्मा, गणेश लम्साल, महेन्द्रप्रसाद शर्मा, विष्णुप्रसाद अधिकारी, इन्द्रमणी पौडेल, दीपक हमाल, भुपाल कार्की, राजु गौतम, सञ्जय श्रेष्ठ र ईश्वरजङ्ग राजभण्डारी सर्वसम्मत निर्वाचत हुनुभएको छ । सदस्यमा उम्मेदवारी दिएका राजेश भारीले उम्मेदवारी फिर्ता लिए ।

मनोनयन दर्तामा अरुको उम्मेदवारी नै नपरेपछि दुई महिला सदस्य यसअघि नै निर्विरोध निर्वाचित भएका थिए । महिला सदस्यमा यमुना रेग्मी र शिवकला थापाले मात्र उम्मेदवारी दर्ता गरेकोले सर्वसम्मत भएका हुन् ।

कार्यसमितिका पदाधिकारी भने सदस्यमध्येबाटै पछि चुनिनेछन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here