
काठमाडौं, २१ बैशाख। विद्रोही समूहले नेत्रविक्रम चन्द ‘विप्लव’लाई नेपाल कम्युनिष्ट पार्टीको महासचिवबाट हटाएको छ। चितवनमा शुरु भएको विद्रोही नेताहरूको भेलाले विप्लवलाई महासचिवबाट हटाएको हो।
विद्रोही समूहको भेलाले विप्लवलाई पार्टी सदस्यसमेत नरहने गरी निष्कासन गरेको हो। भेलाले नेकपाका प्रवक्ता रहेका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को पनि जिम्मेवारी खोसेको छ।
विद्रोही समूहले नेकपाको नयाँ महासचिव धर्मेन्द्र बास्तोलालाई तोकेको छ। बास्तोलाकै नेतृत्वमा भेलामा पार्टीका दस्तावेजहरुमाथि छलफल शुरु भएको छ। भेलाले नेकपाको नयाँ कार्यसमिति पनि घोषणा गर्ने बताइएको छ।
यसअघि, विप्लवले पनि नेताहरु धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई पार्टीको नीतिविपरीत गएको भन्दै पार्टीबाट निष्कासन गरेका थिए । स्थानीय चुनावमा सहभागिताको विषयलाई लिएर शुरु भएको विवाद एकअर्कालाई निष्कासन गर्नेसम्म पुगेको हो।