बागलुङ, २० बैशाख । नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङका सह–इन्चार्ज इन्द्रलाल सापकोटाले सत्ता स्वार्थका लागि प्रचण्ड र देउवाले घाँटी जोड्दैमा तलका जनताले गठबन्धनलाई मतदान नगर्ने बताउनुभएको छ ।
नेकपा एमाले काठेखोला गाँउपालिकाले वडा नम्बर २ भीमापोखरामा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले सशस्त्र द्वन्द्वको समयमा एकले अर्कालाई सिध्याउन तल्लिन देउवा र प्रचण्डले सत्ता स्वार्थका कारण गरेको गठबन्धन प्रति जनता सकरात्मक नरहेको दाबी गर्नुभयो । मुलुकको आर्थिक बिकास र समृद्धिका लागि नभई गठबन्धन सत्ता प्राप्तिको अभियानमा लागेकाले जनताले सुर्य चिन्हमा मतदान गर्न आतुंर रहेको बताउनुभयो । उहाँले काठेखोलाको बिकासका लागि एमालेको नेतृत्वमा रहेको स्थानीय सरकार गाउँपालिका र वडाले गरेका कामजनताको पक्षमा रहेको चर्चा गर्दै सापकोटाले यहाँको बिकास र समृद्धिका लागि एमालेका उमेदवारलाई बिजयी गराउन आव्हान गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा विदेश विभाग उप–प्रमुख कृष्ण बहादुर केसीले मुलुकको समृद्धि, सामाजिक न्याय र समतामुलक समाज निर्माणका लागि एमालेको विकल्प नरहेको बताउनुभयो ।
नेकपा एमाले जिल्ला सचिवालय सदस्य तथा काठेखोला गाँउपालिकाका अध्यक्ष अमर बहादुर थापाले काठेखोलाका जनतालाई आर्थिक रुपमा सक्षम, सामाजिक रुपमा सवल बनाउन एमालेले गरेका कामका आधारमा जनता एमालेलाई बिजयी गराउन आतुर रहेको बताउनुभयो ।
नेकपा एमालेको तर्फबाट काठेखोला गाँउपालिका अध्यक्षका उमेदवार डिल बहादुर कार्की, उपाध्यक्षका उमेदवार कोपिला पुन, वडा अध्यक्षका उमेदवार विद्यापति शर्माले काठेखोलाको समग्र बिकासका लागि जनताको भावना अनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
नेकपा एमालेले काठेखोलाका ८ वडामा ८ पहिचानका आधारमा प्रतिबद्धता पत्र बनाएर चुनावी अभियानमा जुटेको छ । भीमापोखरालाई पशुपालन र तरकारीको विशेष क्षेत्र बनाउने लगायतका कार्यक्रम एमालेले अगाडि सारेको छ ।
नेकपा एमाले वडा नम्वर २ भीमापोखराका वडा कमिटीका अध्यक्ष नारायणदत्त रेग्मीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष चन्द्रकला थापा र संचालन सचिव ऋषिराम शर्माले गर्नुभएको थियो ।