बागलुङ, २० बैशाख । जिल्लाको काठेखोला गाउँपालिका—६ बिहुँमा पाँच दलीय गठबन्धनको चुनावी सभा सम्पन्न भएको छ । तल्लो बिहुँको हटिया, चिरपानी र टापुमा चुनावी सभा सम्पन्न भएको हो । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टीको संयुक्त गठबन्धनका उम्मेदवार सहितको टोलीले घरदैलोसंगै चुनाबी सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा बोल्दै गठबन्धनका गाउँपालिका अध्यक्षका उम्मेदवार राजु थापाले पाँच वर्षभित्र सबैको सहमतीमा गाउँपालिकाको प्रशासकीय भवन निर्माण गर्ने, युवाहरुलाई स्वरोजगार बनाउन सीपमूलक तालिमको व्यवस्था गर्ने बताए । ‘पाँच वर्षमा गाउँपालिकाले आफ्नो प्रशासकीय भवन पाउन सकेन,’ उनले भने,‘सबैको सहमतिको आउने पाँच वर्षमा त्यो भवन निर्माण गर्नेछु । काठेखोला गाउँपालिकामा आफ्नै अस्पताल, प्राविधिक शिक्षालयको स्थापना गर्नेछौं । मुख्य रुपमा यहाँका नागरिकलाई सशासन दिने हाम्रो मुख्य काम हुनेछ ।’
उनले गाउँपालिका अध्यक्षमा निर्वाचित भएपछि कुनै भेदभाव नगरी सबैलाई समानताको आधारमा सेवा सुविधा उपलब्ध गराउने बताए । पाँच वर्षभित्र गाउँपालिकाको केन्द्रबाट कम्तीमा वडा कार्यालयसम्मको बाटो ग्राभेल गर्ने बताए ।
कार्यक्रममा कोठेखोला गाउँपालिकाका उपाध्यक्ष उम्मेदवार तेजबहादुर थापा तिलकले समग्र काठेखोलाको सामाजिक, आर्थिक र भौतिक विकासमा आफुहरु तल्लिन हुने बताए । काठेखोलाका विभीन्न ठाउँहरु बसाइँ सराईका कारण रित्तिन थालेको भन्दै उनले गाउँमै सहज स्वास्थ्य, शिक्षा, लगायतका सुविधा पु¥याएर बसाइँ सराइँ कम गर्ने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सभा संसदीय दलका नेता पियारी थापा सुप्रभाले अहिलेसम्मका प्राप्त उपलब्धीहरु जोगाउनका लागि गबठन्धन बनेको बताईन् । ‘
नेकपा माओवादी केन्द्रकी नेतृ संविधान सभा सदस्य केशरी घर्तीले दुई तिहाईको सरकार हुँदाहुँदै सरकार चलाउन नसकेर संसद विघटन गरेका ओली र उनका अनुयायीहरुले देशको विकास गर्छन् भन्ने भ्रमबाट सबै मुक्त हुनुपर्ने बताईन् ।
कार्यक्रममा पूर्व सांसद टंक कँडेल, नेपाली काँग्रेस बागलुङकी सहसचिव ज्ञानु श्रीस शर्मा, वडा नम्बर ५ का वडाध्यक्षका वडाध्यक्ष शिवप्रसाद कँडेल, नेपाली काँग्रेस गण्डकी प्रदेशका आमन्त्रित सदस्य भवानी कँडेल, जिपी कोईराला फाउण्डेन बागलुङका अध्यक्ष महेन्द्र कँडेल, प्रदेश महाधिवेसन प्रतिनिध गंगा कँडेल, रनमाया कँडेल लगायतले बोलेका थिए ।
काठेखोला—६ का वडाध्यक्षका उम्मेदवार एवं पार्टी सभापति बृहस्पती कँडेलको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत चिन्तामणि विक र सञ्चालन नरेन्द्र कँडेलले गरेका थिए ।