भीमापोखराको वडा अध्यक्षमा शिक्षक र विद्यार्थीबीच चुनावी प्रतिस्पर्धा

बागलुङ, १९ वैशाख । स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्तासँगै बागलुङमा चुनावी सरगर्मी ह्वातै बढेको छ । चुनावी प्रतिस्पर्धामा उत्रिएका उम्मेदवरलाई विभिन्न दृष्टिले विश्लेषण गर्न थालिएको हो ।

चुनावी प्रतिस्पर्धालाई राजनीतिक दल, आस्था र विचारमा मात्रा सिमित छैन । स्थानीय तहको निर्वाचन भएको हुँदा एउटै छरछिमेक, भुगोल, समाजका व्यक्तिबीच प्रतिस्पर्धा हुन्छ । अझै वडा तहको निर्वाचन हेर्ने हो भने एउटै टोल, साँधमा पर्ने छिमेकीबीचको प्रतिस्पर्धा अझै रोचक बन्न सक्छ ।

कोखोला गाउँपालिका–२ भीमापोखरामा वैशाख ३० गते त्यस्तै रोचक प्रतिस्पर्धा हुँदैछ । भीमापोखरामा शिक्षक र विद्यार्थी चुनावी मैदानमा हुनुहुन्छ । नेकपा एमालेबाट विद्यापति शर्मा र नेपाली काँग्रेसले गंगा थापालाई वडाध्यक्षमा उम्मेदवार बनाए पछि पूर्व शिक्षक र विद्यार्थीबीच चुनावी प्रतिस्पर्धा निश्चित भएको हो ।

पूर्व शिक्षक विद्यापति शर्माले अर्काे उम्मेदवार गंगा थापालाई शिवालय आधारभुत विद्यालयमा पढाउनुभएको थियो । पूर्व शिक्षक र विद्यार्थी चुनावी मैदानमा उत्र्रिएको हुँदा दुवै जना व्यक्तिगत गाली गलौजमा उत्र्रनु भएको छैन । दुवै जनाले आ–आफ्नो योजना सुनाएर मतदातालाई आफ्नो पक्षमा लिने प्रयास गर्नुभएको छ ।

यस अघिका निर्वाचनमा समान उमेर र संगठानिक हैसियतका व्यक्ति उम्मेदवार हुँदा चुनावी भाषणमा व्यक्तिगत टिकाटिप्पणीसम्म हुने गर्थे । यस पटक दुवै पक्षबाट तल्लो तहको टिका टिप्पणी भएका छैनन । शर्माले पहिलो स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवारलाई पराजित गर्दै वडाध्यक्षमा विजयी हुनुभएको थियो ।

शिक्षा शास्त्र संकाय अंग्रेजी विषयबाट स्नाकोत्तर तहसम्मको पढाई पुरा गर्नुभएको ३० बर्षिय थापा पनि अध्ययन पछि शिक्षण पेसामा आबद्ध हुनुभएको थियो । अस्थायी सेवामा कार्यरत थापा उम्मेदवार बन्न कै लागि राजिनामा दिएर चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । पूर्व शिक्षक र विद्यार्थीको चुनावी प्रतिस्पर्धा रोचक, सभ्य र राजनीतिक संस्कारले भरिपूर्ण हुने अपेक्षा गरेको स्थानीय प्रेम प्रसाद शर्माको विश्वास छ ।

‘प्रतिस्पर्धी मेरो पूर्वविद्यार्थी र छिमेकी दुवै पर्नुहुन्छ’ उम्मेदवार शर्माले भन्नुभयो–‘हामी आ–आफ्नो एजेन्डा, विचार र संगठनका साथ जनतामा पुग्छौँ, चुनावी संकारपूर्ण हुनेछ ।’ अर्काे उम्मेदवार थापाले पनि शिक्षकसँगको चुनावी प्रतिस्पर्धालाई जिम्मेवारपूर्ण ढंगबाट लिएको प्रतिक्रिया दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here