स्वास्थ्य मापदण्डको उल्लंघन : मन्त्रीकी छोरीको विवाहमा हजारौं पाहुना

काठमाडौं, १५ माघ । कोरोना संक्रमण रोक्न सरकारले २५ जनाभन्दा बढी भेला हुन निषेध गरेको छ। तर, मधेस प्रदेशका एक मन्त्रीले छोरीको विवाहमा हजारौंलाई भेला गरेर भोज नै खुवाएका छन् ।

सरकारकै स्वास्थ्य मापदण्डको उल्लंघन गरे । आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले छोरी मेघाको विवाह बिहीबार रौतहट निवासी रोमन साहसँग गरिदिएका हुन्। उक्त विवाहमा कुनै स्वास्थ्य मापदण्ड कायम थिएन । पाँच हजारभन्दा बढीलाई भेला गरेर भोजसहितको विवाह मन्त्री साहले आयोजना गरे ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीले पनि गत माघ २ गते सूचना जारी गर्दै बैठक, सभा समारोहमा रोक लगाएको थियो। तर, विवाहको स्वयंवरमा मधेस प्रदेशका प्रमुख हरिशंकर मिश्र पनि उपस्थित भए। स्वयंवरपछिको भोजमा मुख्यमन्त्री लालबाबु राउत सहभागी भए ।

सभामुख सरोजकुमार यादव, अर्थमन्त्री शैलेन्द्रप्रसाद यादव र भौतिक पूर्वधारमन्त्री रामसरोज यादव पनि त्यहाँ थिए। खचाखच भीडमा पुगेर संघीय सरकारका पूर्वमन्त्री मातृका यादव र रामेश्वर राय यादवले प्रशासनले जारी गरेको सूचनाको बर्खिलाप गरे। प्रदेशस्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखहरू पनि नियम उल्लंघनको साक्षी बने। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here