बागलुङ, ५ माघ । बागलुङमा पछिल्लो समय कोरोना भाइरस (कोभिड–१९)को संक्रमण दर वृद्धि भएको छ ।
बागलुङमा पछिल्लो तीन दिन (सोमबार, मंगलबार र बुधबार) १ सय २९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोभिड–१९ फोकलपर्सन देवप्रकाश घिमिरेले बताउनुभयो । उहाँले सोमबार ३१ जना, मंगलबार, ४६ जना र बुधबार ५२ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो ।
सोमबार पिसिआर परीक्षणबाट १५ जना र एन्टिजेन परिक्षणबाट १६ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो । सोमबार ३ जनाले डिस्चार्ज भएका थिए । यस्तै मंगलबार पिसिआर परीक्षणबाट २० जना र एन्टिजेन परिक्षणबाट २६ जनालाई संक्रमण पुष्टि भएको फोकलपर्सन घिमिरेले बताउनुभयो । उहाँले बुधबार (आज) पिसिआर परीक्षणबाट ३१ जना र एन्टिजेन परीक्षणबाट २१ जनालाई संक्रमण देखिएको बताउनुभयो । बुधबार १ जनाले कोरोना निको हुँदै डिस्चार्ज भएका छन् ।
सक्रिय संक्रमित १ सय ८७ जना
बागलुङका आज (बुधबार)सम्म १ सय ८७ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कोभिड–१९ फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिकामा १ सय ८ जना, गल्कोट नगरपालिकामा ३४ जना, बरेङ गाउँपालिकामा १९ जना, जैमिनी नगरपालिकामा ४ जना, ताराखोला गाउँपालिकामा ५ जना, बडिगाड गाउँपालिकामा ४ जना र काठेखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा २÷२ जना सक्रिय संक्रमित रहेको बताउनुभयो । सक्रिय संक्रमितहरु मध्य १ जना धौलागिरी अस्पतालको आइसोलेसनमा रहेको र अन्य होम आइसोलेसनमै रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।
कोभिड–१९ फोकलपर्सन घिमिरेका अनुसार बुधबारसम्म बागलुङमा कोरोना परिक्षण मध्य संक्रमण दर २८.४६ प्रतिशत र रहेको र पोजिटीभ मध्ये मुत्ृयुदर ० दशमलब ८९ प्रतिशत र निको भएको दर ९६ दशमलब ८१ प्रतिशत रहेको बताउनुभयो ।
बागलुङका ७ वडामा रेड जोनमा
बागलुङका तीन पालिकाका ७ वटा वडा कोरोना संक्रमणको रेड जोनमा परेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आज (बुधबार) संक्रमण दरको आधारमा सात वटा वडा रेड जोनमा परेको जनाएको छ ।
कोभिड–१९ फोकलपर्सन घिमिरेले बागलुङ नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र १३ रेड जोनमा परेको बताउनुभयो । यस्तै गल्कोट नगरपालिकाको वडा नम्बर ३ र बरेङ गाउँपालिकाको वडा नम्बर ५ रेड जोनमा परेको बताउनुभयो ।
घिमिरेले रेड जोनमा परेको बागलुङ नगरपालिका–१ मा १२ जना, २ मा २२ जना, ३ मा १६ जना, ४ मा १० जना र १३ मा १३ जना सक्रिय संक्रमित रहेको बताउनुभयो । यस्तै गल्कोट नगरपालिका–३ मा १२ जना र बरेङ गाउँपालिका–५ मा ८ जना सक्रिय संक्रमित रहेको बताउनुभयो ।