बागलुङका ८६ हजारले लगाए कोरोनाको पूर्ण खोप

बागलुङ, १९ पौष । बागलुङका ८६ हजार ८९२ जना नागरिकले कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् ।

विभिन्न चरणमा सञ्चालित खोप अभियानबाट एक लाख ३८ हजार ७८२ जनाले पहिलो मात्रा खोप लगाएका हुन । स्वास्थ्य कार्यालय बागलुङका अनुसार ५१ हजार ८९० जना दोस्रो डोजको पर्खाइमा छन् ।

स्वास्थ्य कार्यालयका खोप सुपरजाईजर राजु खत्रीका अनुसार जिल्लामा १८ बर्षमाथि उमेर समुहका एक लाख ५९ हजार ३०४ जना नागरिक छन् । हालसम्म दुई लाख ४५ हजार ३७८ डोज खोप प्राप्त भएको थियो ।

कोभिडसिल २१ हजार ९३९, भेरोसेल ५१ हजार ५९६, ज्यानसन १२ हजार २६६ र फाईजर एक हजार ५१ जनाले पूर्ण खोप पाएको खोप सुपरभाईजर खत्रीले जानकारी दिनुभयो । १८ बर्षमाथिका ८७ प्रतिशत नागरिकले पहिलो डोज खोप प्राप्त गरेका छन् । पूर्ण डोज पाउने नागरिकको संख्या ५४ प्रतिशत छ ।

यस्तै, बागलुङका नौ स्थानीय तह कोरोना संक्रमित मुक्त भएका छन् । दश स्थानीय तह रहेको यहाँको बागलुङ नगरपालिकामा नौ जना कोरोनाका बिरामी छन् । अन्य स्थानीय तहमा संक्रमितको संख्या शुन्य हुँदा ति स्थानीय तहलाई कोरोना संक्रमणको को न्युन जोखिमको सूचीमा सुचिकृत गरिएको छ ।

स्वास्थ्य कार्यालय बागलुङमा शुन्य संक्रमित भएको वडालाई न्युन जोखिम एकदेखि सात जनासम्म संक्रमित भएको वडालाई मध्यम जोखिम र सात जना भन्दा बढी संक्रमित भएको वडालाई उच्च जोखिमको सुचीमा राख्ने गरेको छ ।

स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक देवप्रकाश घिमिरेका अनुसार बागलुङ नगरपालिका वडा–२ मा एक, वडा–३ मा दुई, वडा–४ मा १, वडा–५ मा एक, वडा–११ मा एक र वडा–१३ मा ३ जना संक्रमित छन् ।

अधिकांस संक्रमितलाई कडा लक्षण नभएको हुँदा घरमै बस्न आग्रह गरेको स्वास्थ्य कार्यालयका प्रमुख गुरौको भनाई छ । घरमा रहने संक्रमितलाई सम्बन्धीत स्थानीय तहका स्वास्थ्यकर्मीले आवश्यक निगरानी, स्वास्थ्य सरसल्लाह दिने गर्छन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here