
बागलुङ, १६ पुस । बागलुङको काठेखोला गाउँपालिकाको दाशौं गाउँसभा बिभिन्न प्रस्तावहरु पारित गर्दै सम्पन्न भएको छ । हिउँदे अधिबेशनका रुपमा लिईने गाउँसभा प्रतिवेदन र प्रस्तावहरुमा छलफल गर्दै शुक्रबार सकिएको हो ।
‘आवश्यक कानुन तयार भएर कार्यान्वयनमा छन्, प्रदेश र संघीय कानुन नबनेका कारण कतिपय कानुन बनाउन सकिएको छैन्’ गाउँपालिका अध्यक्ष अमर थापाले भने ‘हिउँदे अधिबेशन, गाउँसभाले कामको समिक्षा, उपलव्धीको मुल्याकंन र बाँकी कार्याकालका लागि योजना बनाएको छ ।’
वडा नं. ६ बिहुँको सभाहलमा भएको गाउँसभामा गाउँपालिका अध्यक्ष अमर थापाले प्रस्तुत गरेको १० पृष्ठ लामो प्रगति प्रतिवेदन तथा उपाध्यक्ष अर्जुन बहादुर खत्रीले प्रस्तुत गरेको आर्थिक प्रगति प्रतिवेदनलागयतका प्रस्तावहरु गाउँसभाले पारित गरेको छ । गत असोजमा भएको नवौं गाउँसभाले पारित गरेको बजेटको आकार दशौं गाउँसभाले बढाएको छ । ५३ करोड ३१ लाख रुपैयाँको बजेटमा डेढ करोड रुपैयाँ सञ्चित कोषको रकम थप भएपछि बजेटको आकार बढेको हो । सञ्चीत कोषमा जम्मा भएको झण्डै डेढ करोड रुपैयाँ थप भएको संशोधन प्रस्ताव गाउँसभाले पारित गरेको हो । आठ वडा रहेको गाउँपालिकाले थपिएको बजेटबाट प्रत्यक वडामा दशलाखको कुनै एक योजनामा मात्रै काम गर्नेगरी बजेट बिनियोजन गरेको अध्यक्ष थापाले जानकारी गराए ।
गाउँसभामा प्रगति प्रतिवेदन प्रस्तुत गर्दै थापाले जनचाहना अनुसार बितेको पाँच बर्षमा काम गरेको दावी प्रस्तुत गरे । कोरोना महामारी, दैविक प्रकोपाको चुनौतीका बीच तल्लो तहमा पुगेर गाउँपालिकाले काम गरेको उनले दावी प्रस्तुत गरे । बेरुजु कम हुने गाउँपालिकाको रुपमा चर्चा पाउनु, प्रविधिमा अव्वल गाउँपालिका ठहरिनु, कृषि पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थय र सामाजिक बिकासका क्षेत्रमा अन्य पालिकाका भन्दा अव्वल कार्यक्रम सञ्चालन भएको प्रतिवेदनमा उल्लेख छ ।
गाउँसभाका सदस्यहरुले गाउँ कार्यपालिकाको प्रशासनीक भवन निर्माण हुन नसकेको बिषयमा प्रस्न उठाएका थिए । गाउँपालिकाले कार्यदल बनाएर जग्गा व्यवस्थापन र भवन निर्माणको कामका लागि काम गरिरहेको अध्यक्ष थापाले जानकारी गराए ।
गाउँसभामा विपत् व्यवस्थापन समितिका संयोजक खडक थापा, सार्वजनिक सेवा तथा क्षमता बिकास समितिका संयोजक टिका संगम बि.क. विद्यायक समितिका संयोजक चित्रकला छन्त्याल, आर्थिक समितिका संयोजक युक्त प्रसाद कँडेल, सामाजिक बिकास समितिका संयोजक विद्यापति शर्माले प्रतिवेदन माथि आफ्ना भनाई राखेका थिए ।