गण्डकी प्रदेशका ११ लाखभन्दा बढी नागरिकले लगाए कोरोना विरुद्ध खोपको पूर्ण मात्रा

कास्की, ६ पौष । गण्डकी प्रदेशका ११ जिल्लामा गरी हालसम्म ११ लाख १२ हजार १५८ जनाले कोरोना विरुद्ध खोपको पूरा मात्रा (फूल डोज) लगाएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार पुस ५ गतेसम्मको तथ्यांकनुसार १४ लाख ७२ हजार ३८७ जनाले पहिलो मात्रा र सो संख्यामा पूरा डोज खोप लगाएका छन् ।

सरकारले कोरोनाविरुद्ध लड्नका लागि खोप प्रभावकारी हुने भएपछि प्रदेशका सबै जिल्लामा खोप अभियान सञ्चालन गरिरहेको छ । कास्कीमा कोरोना खोपको पहिलो मात्रा भन्दा पूरा डोज लिनेको संख्या बढी छ । तीन लाख ७४ हजार ५५४ जनाले पहिलो मात्रा र तीन लाख ८६ हजार ४१४ जनाले पूरा मात्रा खोप लगाएका छन् ।

तनहुँमा एक लाख सात हजार ९४३, नवलपरासीमा एक लाख दुई हजार ५८ र स्याङ्जामा एक लाख २४ हजार ५८६ जनाले पूरा मात्रा खोप लिएको प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए ।

यसैगरी, गोर्खामा ९८ हजार ९३१, म्याग्दीमा ५१ हजार ४७१, लमजुङमा ८७ हजार ८०२, पर्वतमा ६० हजार ७४६, बाग्लुङमा ७४ हजार ५८, मुस्ताङ १३ हजार ५८७ र मनाङमा चार हजार ६१२ जनाले पूरा मात्रा खोप लगाएको निर्देशनालयले जानकारी दिएको छ । गण्डकी प्रदेशका कास्की र बागलुङबाहेकका नौ जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि पुस गतेसम्म १४ गतेसम्म मोडर्ना खोपको पहिलो मात्रा खोप अभियान सञ्चालन गरिएको छ ।

तोकिएका सामुदायिक र संस्थागत विद्यालयमा लगाउन शुरु गरिएको निर्देशनालयका निर्देशक खिमबहादुर खड्काले जानकारी दिए । यस अभियानमा पहिलो मात्र लगाएकालाई आगामी माघ २ देखि १२ गतेसम्म दोस्रो मात्र दिने कार्यक्रम छ ।

मोर्डना खोप अभियानमा लक्षित संख्या एक लाख ८५ हजार २९८ रहेकोमा एक लाख ९४ हजार ४५० डोज खोप प्राप्त भएको निर्देशनालयले जानकारी दिएको छ । प्रदेशमा हालसम्म तीन लाख ५४ हजार ८४० जनाको कोरोना परीक्षण गरिएकोमा ८८ हजार २८३ जनाको संक्रमण पुष्टि भएको थियो ।

अहिलेसम्म ८६ हजार ७०९ जना निको भएका छन् । संक्रमणबाट एक हजार ४२५ को निधन भएको जानकारी दिइएको छ । रासस

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here