एमाले महासचिवमा पौडेल कि पोखरेल ?

काठमाडाैं, ८ मंसिर । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को १०औं महाधिवेशन दुई दिन मात्र बाँकी छ । यतिबेला पार्टीको प्रभावशाली पद हत्याउन नेताहरू आन्तरिक रणनीतिमा जुटेका छन् ।

महाधिवेशन नजिकिएसँगै पार्टीको प्रभावशाली पद वरिष्ठ उपाध्यक्ष र महासचिव पदका लागि नेताहरू रणनीतिमा जुटेका छन् । १०औं महाधिवेशनमा महासचिवका पाँच जना दाबेदार देखिएका छन् ।

वर्तमान उपाध्यक्ष भीम रावलले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरे पनि केपी शर्मा ओली नै अध्यक्ष बन्नेमा दुई मत छैन । तर, रावलको उम्मेदवारीले ओलीलाई सर्वसम्मत हुनबाट भने धक्का लागेको छ ।

उता, अध्यक्षपछिको प्रभावशाली पद महासचिव को बन्छ ? भन्ने कार्यकर्तामा कौतुहलता बढेको छ । १०औं महाधिवेशनमा महासचिव बन्ने दौडमा विष्णु पौडेल, शंकर पोखरेल, घनश्याम भुसाल, पृथ्वीसुब्बा गुरुङ, सुरेन्द्र पाण्डेलगायत चर्चामा छन् ।

अध्यक्ष ओली समूहबाटै पौडेल र पोखरेल महासचिवका बलियो दाबेदार हुन् । नवौं महाधिवेशनमा उपमहासचिव हारेका पोखरेल अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् ।

एमालेमा महासचिवका मुख्य दाबेदार मानिएका पौडेल तत्कालीन नेकपाको महासचिवको जिम्मेवारी पूरा गरिसकेका छन् । साथै, उपमहासचिव पौडेल संगठन विभाग प्रमुख तथा दुईपटक अर्थमन्त्री र उपप्रधानमन्त्री भइसकेका नेता हुन् ।

नेकपाको आन्तरिक विवादका समयमा ओली र पुष्पकमल दाहालसँग बराबरीजस्तै छलफलमा उनी जुटेका थिए ।

नेपालकै ठूलो, दुई तिहाइ जनमतसहित सत्ता सञ्चालनमा रहेको नेकपाको महासचिव बनेर सफल भूमिका निर्वाह गरेका पौडेल एमाले महासचिवको प्रबल दाबेदार हुन् । राजधानी दैनिकमा सुभाष शाहले खबर लेखेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here