
बागलुङ, ३० कात्तिक । बागलुङ नगरपालिका–३ देउराली चोक निवासी ८२ बर्षिय दलबहादुर खडकाथोकी धमाईलो ( घाम लागेको बेला) दिन हुँदाको अधिकास समय बागलुङ–पर्वत जोड्ने कालीग्ण्डकी गोल्डेन वृज झोलुङ्गे पुल आसपासमा भेटिनु हुन्छ ।
मौसम सफा भएको दिन पानी नपर्ने जस्तो लागेका खाना खाएर दिन काट्न पुल तिर गएर बस्ने गर्नुहुन्छ । बागलुङ तर्फको पुलको मुखमा निर्माण भएको पर्खालमाथि सिँढीमा बसेर दिनभरी पुल हेर्न र वारपार गर्न आउने आन्तरिक तथा बाह्यक पर्यटकको चहल पहल हेर्दै सजिलै दिन काट्न थाल्नुभएको हो ।
घरमा एक्लै बस्नु भन्दा हिडेर पुलसम्म पुग्दा शारीरिक अभ्यास पनि हुने, सजिलैसँग दिन पनि घचेट सक्ने भए पनि घाम लाग्दाको दिन लठ्ठीको सहायताले साथमा छाता लिएर पुलमा पुग्ने गरेको खडकाथोकीको भनाई छ । ‘घरमा एक्लै घुमघुम्ती बस्दा पनि दिन काट्न मुस्किल हुन्छ’ उहाँले भन्नुभयो–‘पुलमा आए पछि यता उति हेर्दा हेर्दै रात परेको पत्तो हुँदैन ।’
पुलले आफ्नो पुस्तादेखि, नानी पनातीसम्मको पुस्ताका गतिविधि, हाउभाउ, चहलपहल देख्न सकिने भन्दै उहाँले भन्नुभयो–‘ पुल बने पछि कलकत्तै यतै बनेको छ हाहाहाहा…. ।’ ज्येष्ठ नागरिकलाई बसाइँको लागि भौतिक संरचना तयार गर्न सके राहत मिल्ने उहाँको भनाई छ ।
कालीगण्डकी नदीमाथि निर्माण भएको नेपालकै लामो झोलुङ्गे पुलमा निषेधाज्ञा खुला भए पछि दैनिक सयौको संख्यामा आन्तरिक तथा बाह्य पर्यटक आउन गरेका छन् । ‘नवदुर्गा सुरु भएदेखि यता पुलमा आउनको संख्या धेरै छ’ खडकाथोकीले भन्नुभयो–‘खासै गिन्ती त आउँदैन दैनिक पाँच÷छ बीस मान्छे आउँछन जस्तो लाग्छ ।’
पुराना पार्टी, पौवा र चौपारा मासिए पछि बजारको तल्लो क्षेत्रका ज्येष्ठ नागरिक गर्मीमा सितल वा जाडोमा पारिलो घाम ताप्ने पुल क्षेत्रमा पुग्ने गर्छन । बागलुङतर्फको भागमा रहेको सहिद पार्कमा बस्न मिल्ने र बालबालिकाको लागि सामान्य खेलकुदको लागि उद्यान छ ।
पुलमाथि फोटो खिच्ने, टिकटक बनाउने, भिडियो बनाउनेदेखि कालीगण्डकी वारपार गर्ने पारखी एक पटक पुलमा पुग्ने गरेका छन् । पुलको विषयमा धेरै सुनेको थिएँ हेर्ने र तर्ने मौका मिल्यो’ रामेछापदेखि बागलुङ ससुराली आउनुभएका विष्णु विकले भन्नुभयो–‘काली नदीमाथि बनेको लामो पुल आहा लाग्ने रहेछ ।’
बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वतको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी हालै निर्माण गरिएको ५६७ मिटर लामो पुल नगरपालिकाले विश्वकै लामो दाबी गर्दै गिनिज बुकमा दर्ता गराउन निवेदन दिएको छ । पुलले एकसाथ ६१२ अर्थात ८५ मेट्रिकटन लोड धान्न सक्छ ।
यो पुलमा मोटरसाईकल प्रयोग निषेध गरिएको छ । झोलुङ्गे पुलमा सम्भव भएसम्म बीचभागबाट पैदलयात्री हिडने आग्रह गर्नुका साथै पुल हल्लाउने र पुलमा दौडिने काम नगर्न निर्माण कम्पनीले अनुरोध गरेको छ ।









