मादल घन्केपछि देउसिरे भाका

तस्वीर सौजन्य : गोरखापत्र अनलाइन

काठमाडाैं, १८ कात्तिक । घरघरमा झिलिमिली बत्ती, घरका कौसी अनि करेसामा रङ्गीचङ्गी फूल र आँगनमा देउसीभैलोको आवाज अर्थात् तिहार ।

नेपालीको घरआँगनमा तिहार सुरु भइसक्यो । देउसीभैलोका लागि नयाँ मादल खरिद गर्ने या फुस्केको तना कसेर अनि झरेको खरी भरेर मादल तयारी भइसक्यो ।

आज मादल बजेको किन गाउँघर दुनियाँ ब्यूँझाउन मादललाई गाउँघर ब्यूँझाउने प्रतीकका रूपमा पनि लिइएको छ । व्यापारका हिसाबले पनि तिहारको समयमा मादल मर्मत र बिक्रीको अवस्था राम्रै छ ।

मादल व्यवसायी जमुना कुलुका अनुसार तिहार लागेपछि मादललगायत छाला बादनको मर्मत र व्यापार बढ्छ । अझ देउसी, भैलोमा मादलको ताल अनिवार्यजस्तै हुन्छ ।

भूकम्प र कोरोना महामारीले मादल व्यवसायमा मन्दी आएको भए पनि यस पटक व्यापारमा केही सुधार भएको अनुभव मादल व्यवसायीको छ ।

वसन्तपुरकी मादल व्यवसायी कुलुले भने, “यस पटक मादल व्यापार अलि बढेको छ ।” मादल बनाउनु, बेच्नु कुलुको पुख्र्यौली पेसा हो । बाजे, बराजुको पालादेखि गरिआएको यस पेसालाई जमुनाको परिवारले समेत व्यावसायिक रूपमा नै धान्दै आएको छ । मादलको व्यापार सदावहार नै चल्ने भए पनि भूूकम्पपछि यसको व्यापार खस्केको कुलुको अनुभव छ ।

देउसीमा बलीराजाको महिमा गाइन्छ । मादलको तालमा लोक लयमा देउसी गाउने शैलीले युवापुस्तालाई समेत आकर्षित गरिरहेको छ । मादल घन्केपछि देउसिरे भट्याउन उत्साहित हुन्छन् ।

लोकबाजा सङ्ग्रहालयका रामप्रसाद कँडेलले भने, “देउसी लोकगायन हो । लोकशैली हो । त्यसको साथमा लोकबाजा मादल अनिवार्य नै हुन्छ । यसको तालले युवालाई समेत आकर्षित गर्छ ।”

उहाँका अनुसार जस्तोसुकै गीतमा पनि विभिन्न ताल काट्न मिल्ने मादलको माग अन्य बेलाको तुलनामा तिहारमा अत्यधिक हुने गरेको छ । नेपाली लोकभाकामा झ्याउरे र ख्याली बढी प्रचलित छन् ।

मादलबाट ३६ वटा ताल, बोल सिर्जना हुने कँडेल बताउनुहुन्छ । मादल ताला बाजा हो । विशेष गरी मगर समुदायमा यस बाजाको ३६ वटा ताल, बोल रहेको पाइन्छ । गोरखापत्र दैनिकमा खबर छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here