माओवादीलाई शक्तिशाली र पहिलो पार्टी बनाउछौंः मन्त्री पौडेल

बागलुङ, १६ कार्तिक । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री तथा नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य देवेन्द्र पौडेलले माओवादीलाई २०६४ को जस्तो पहिलो पार्टी गराउने बताउनुभयो ।

प्रेस सेन्टर नेपाल बागलुङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा बोल्दै मन्त्री पौडेलले पछिल्लो ५, ७ वर्षको समिक्षा गरेर अब माओवादीलाई शक्तिशाली, बलियो र पहिलो पार्टी गराउने संकल्प गरेको बताउनुभयो । ‘केहि समयपछि चुनाव हुन्छ । हामी मिलेर अगाडी बढ्ने छौं,’ मन्त्री पौडेलले भन्नुभयो–‘पछिल्लो ५, ७ वर्षको समिक्षा गरेर माओवादीलाई पहिलो पार्टी गराउने पार्टी अध्यक्ष प्रचण्डसँग संकल्प गरेका छौं ।’

मन्त्री पौडेलले हिजो आफुहरुले जनतालाई भने अनुरुप नै काम गरेको समेत बताउनुभयो । उहाँले राजतन्त्र फाल्ने, गणतन्त्र ल्याउने, विकास र समृद्धिका कुरा, गाउँ–गाउँका हरेक व्यक्तिको हातमा मोबाइल पुराउने, उज्यालो नेपाल बनाउने भनेको र त्यो पुरा गरेको बताउनुभयो । उहाँले हिजो जनतालाई भनेका प्रतिबद्धताहरु कतिपय कार्यसम्पादन गर्दा नपुगेकोमा क्षमताप्राथी र आत्मा आलोचित रहेको र गम्भिर गल्तीहरु नगरेकोले पार्टीलाई पहिलो पार्टी बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री पौडेलले पत्रकारहरुले राम्रा कामको सम्मान र नराम्रा कामको खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले प्रेस स्वतन्त्रताका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

मन्त्री पौडेलले प्रेसको गरिमा बचाउनुपर्ने बताउँदै केहि अनलाईन मिडियाले प्रेसको मर्म विपरित काम गर्ने गरेको कारण समस्या हुने गरेको समेत बताउनुभयो । उहाँले तथ्यहिन समाचार सम्प्रेषण गरेर कसैलाई उचाल्ने र कसैलाई पछार्ने प्रवृद्धि बढेकोले प्रेसको दुरुपयोग भएको बताउँदै त्यसो नगर्न अनुरोध गर्नुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश कृषि भूमि तथा गरिबी निवारण मन्त्री चन्द्र बहादुर बुढा, गण्डकी प्रदेश सांसद दिलमाया रोका, नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज बलावती शर्मा, जिल्ला संयोजक ज्ञामनाथ गैरे ‘अनिल’, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल, पत्रकार महासंघ गण्डकी प्रदेश कोषाध्यक्ष राजेन्द्र न्यौपाने, नेपाल पत्रकार महासंघ बागलुङका जिल्ला अध्यक्ष नरेश कँडेल, प्रेस सेन्टर नेपालकी केन्द्रीय सदस्य कोपिला कंडेल, प्रेस सेन्टर नेपालका गण्डकी प्रदेश संयोजक अर्जुन काफ्ले, प्रेस सेन्टर नेपाल बागलुङका सल्लाहकार मुकेशचन्द्र राजभण्डारी, प्रेस चौतारी नेपालका अध्यक्ष उमाकान्त शर्मा र बेपत्ता परिवारका अध्यक्ष जसोदा शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सम्मेलनमा जिल्लामा क्रियाशिल दुई जना पत्रकारलाई प्रत्येक वर्र्ष पुरस्कृत गर्नको लागि प्रेस सेन्टरमा दुई वटा पत्रकारिता पुरस्कारको घोषणा गरिएको छ ।

यस्तै प्रेस सेन्टर बागलुङले लामो समयदेखि पत्रकारिता गरिरहेका प्रेस संगठनमा आवद्ध तथा क्रियशिल पत्रकारहरुलाई सम्मान गरेको थियो । सेन्टरले बद्री शर्मा, राजेशचन्द्र राजभण्डारी, कोपिला कंडेल, मुकेशचन्द्र राजभण्डारी, महेन्द्र घर्ती संगम, बेलुकाजी थापा, निर्मल बहादुर श्रेष्ठ र प्रकाश बराललाई सम्मान गरेको थियो ।

प्रेस सेन्टर नेपाल बागलुङका अध्यक्ष थम्मन थापा ‘सन्देश’को अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत सरिता खत्री र संचालन अनिष खातीले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोसः प्रेस सेन्टर बागलुङको अध्यक्षमा थापा चयन

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here