
जनकपुरधाम, ९ असोज । चाडपर्व नजिकिँदै जाँदा धनुषामा भारतीय सामानहरूको तस्करी बढेको छ ।
सीमा क्षेत्र रहेका सुरक्षाकर्मी र भन्सार कर्मचारीको मिलोमतोमा दैनिक लाखौँ मूल्य बराबरका भारतीय सामान अवैध रूपमा जनकपुरधाम बजारमा आउने गरेका छन् ।
दुई दिनअघि मात्र नेपाल प्रहरीले भारतबाट भन्सार छलेर ल्याउँदै गरेको १२ लाख ६१ हजार रुपैयाँ बराबरका सामानसहित दुई जनालाई पक्राउ गरेको थियो । भारतबाट ज१च ११११ नम्बरको पिकअप भ्यानमा तस्करीका कपडालगायतका समानहरू जनकपुर ल्याएको अवस्थामा प्रहरीले जनकपुरको माछाबजारमा पक्राउ गरेको थियो ।
सामान तस्करी गरेको आरोपमा जनकपुरधाम उपमहनगरपालिका- १० का मुकेश साह र पिकअप भ्यान चालक झापा दमक- ४ का ओमबहादुर दर्जीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तस्करहरूले साडी, रेडिमेड कपडा, सर्टिङसुटिङका कपडाबहेक दैनिक उपभोग्य सामानहरू, स्टिलका भाँडावर्तन, मोटरसाइकलका पार्टपुर्जालगायतका सामानहरू भारतीय बजारबाट दैनिक करोडौँ रुपैयाँ बराबरका सामानहरू अवैध रूपमा जनकपुरलगायत धनुषाका विभिन्न बजारमा ल्याउने गरेको सुरक्षा स्रोतको भनाइ छ ।
तस्करहरू सीमा क्षेत्रमा रहेका सशस्त्र, जनपद सुरक्षाकर्मी र भन्सार कार्यालयका कर्मचारीहरूलाई आर्थिक प्रभावमा पारेर निर्बाध रूपमा चोरी पैठारी गर्ने गरेको स्रोतले बतायो । तस्करहरूले खजुरी, देबधा, महुर्वा, भडरिया, महिनाथपुर औरही, इनर्वा, यदुकोहालगायतका नाकाबाट समान ल्याउने गरेका स्थानीय बताउँछन् । ती नाकाहरूमा भन्सारका कर्मचारी, सुरक्षकर्मीहरूको व्यापक उपस्थिति भए पनि उनीहरूकै मिलोमतोमा रातिको समययमा तस्करी हुने गरेको स्थानीयको आरोप छ ।
यस्ता अवैध समान ल्याउने तस्करहरूसँग महिनावारी उठाउन प्रहरीको गुमुवा र जनकपुर भन्सार कार्यालयका कर्मचारी नै खटाइएको छ । सीमा क्षेत्रमा रहेको छोटी भन्सार कार्यालयका कर्मचारीहरूले बढी सामानको कम मूल्यांकन गरी प्रज्ञापनपत्र बनाएर भन्सार कटाउने गरेको पाइएको छ ।
चाडपर्व नजिकिँदै जाँदाँ तस्करी बढेको धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटले पनि स्वीकार गरे । चाडपर्व नजिकिँदै जाँदा विगतमा भन्दा अहिले बढी तस्करी हुने गरेको देखिन्छ’, उनले भने, ‘तस्करी बढेसँगै प्रहरीले पनि सक्रियता बढाएको छ ।’
जनकपुरस्थित भन्सार कार्यालयका प्रमुख प्रमोद साहले पनि तस्करी बढेको स्वीकार गर्दै सीमा क्षेत्रमा रहेका सशस्त्र प्रहरी र जनपद प्रहरीले सक्रियता नदेखाएका कारण तस्करी बढेको बताए । उनले भने, ‘भन्सार छली गरी आएको माल सामान बोकेका पिकअप भ्यान जनकपुरमा आए पक्राउ पर्छन्, जनकपुर पुग्न कतिवटा प्रहरी चौकीहरू पार गरेर आउँछन् ? यस हिसाबले पनि तस्करी नियन्त्रणमा प्रहरीको सक्रियता कति देखिन्छ, प्रस्ट हुन्छ ।’
सीमावर्ती भारतीय बजारको तुलनामा भन्सार महसुल, स्थानीय विकास शुल्क र मूल्य अभिवृद्धि कर बढी लाग्ने गरेकाले भारतीय बजारसँग प्रतिस्पर्धा गर्न यहाँका व्यापारीहरूले तस्करहरूको सहारा लिने गरेका छन् । सामानलाई २० देखि ३० प्रतिशत ‘क्यारिङ’ खर्च दिँदा तस्करहरूले भारतीय बजारबाट भनेको ठाउँमा सामान पुर्याइदिने र समान पक्राउ परेको खण्डमा तस्करहरूले नै बेहोर्नुपर्ने नियम रहेको जनकपुरका एक कपडा व्यापारीले बताए ।