बागलुङमा ८६ वर्षिया महिलाको हड्डीको सफल शल्यक्रिया

बागलुङ, ७ असोज । धौलागिरी अस्पतालमा बागलुङमा पहिलो पटक ८६ वर्षिया जेष्ठ नागरिकको हड्डीको सफल शल्यक्रिया गरिएको छ । बागलुङ नगरपालिका–१० भकुण्डेकी ८६ वर्षीया तुलसी थापाको शरीरको देब्रे भागको कम्मरको गोलो हड्डी (नेकअफफिमर)को बिहिबार सफल शल्यक्रिया गरिएको हो ।

हाडजोर्नी डाक्टर प्रतिक आचार्य नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अप्रेशन टोलीमा (एनेस्थेसिया) बेहोस पार्ने डाक्टर नविन पौडेल, डाक्टर कमल कार्की, डा.केशवराज पाण्डे, सञ्जु क्षेत्री, नर्स देवि भट्टराईको संलग्नता रहेको थियो ।

थापाको देब्रेभागको कम्मरको गोलो हड्डी (नेकअफफिमर) भाँचिएपछि चिकित्सकको टोलीले शल्यक्रिया गरि भाँचिएको ठाउँमा स्टीलको हड्डी प्रत्यारोपण गरेको हो । करिब ३ घण्टा लगाएर शल्यक्रिया गर्न सफल भएको डाक्टर प्रतिक आचार्यले बताए । ‘८६ वर्षको उमेरमा हड्डीको अप्रेशन गर्नु भनेको अत्यन्त दुर्लभ र जोखिम अप्रेशन हो’ डाक्टर आचार्यले भने–‘त्यो धौलागिरी अस्पतालमा गर्न सफल भयौँ, यो सुविधा सम्पन्न अस्पतालमा पनि कठिन कार्य हो, धौलागिरी अस्पतालमा गर्यौँ ।’

उनले बिरामीको उमेर सबैभन्दा ठूलो जोखिम रहेको उल्लेख गरे । ‘बुढेशकालमा हड्डी माकिएको हुन्छ, एकठाउँमा अप्रेशन गर्दा अर्को ठाउँमा भाँचिने सम्भावना हुन्छ, औषधी प्रशस्त मात्रामा चलाउन पाईदैन’ डाक्टर आचार्यले भने–‘त्यहि पनि त्यसको व्यवस्थापन गर्दै शल्यक्रिया गर्न सफल भयौँ ।’ अर्का डाक्टर नविन पौडेलले अस्पतालमा आईशियू नभएपनि आफुहरुले मोलेको जोखिम सफल भएको बताए । उनले यो अप्रेशन धौलागिरी अस्पतालको ईतिहाँसमै पहिलो पटक भएको बताए । उमेरका हिसाबले देशका अन्य अस्पतालमा यस्तो अप्रेशन जोखिम नै हुने उनको भनाई छ । उनले धौलागिरी अस्पतालमा साउन महिना मात्र ४५ वजना व्यक्तिको हड्डिको अप्रेशन गरिएको उल्लेख गरे ।

उनले थापालाई अन्यत्र निजी अस्पतालमा यस्तो जटिल अप्रेशन गर्दा करिब ५ लाख रुपैयाँ खर्च हुने र धौलागिरी अस्पतालमा गर्दा त्यो जोगिएको बताए । अस्पतालका प्रमुख सुरिटेण्डेन्ट डाक्टर शैलेन्द्र बिक पोख्रेलले जोखिम मोलेर डाक्टरले अप्रेसन सफल बनाएकोमा धन्यवाद ज्ञापन गरे । ‘डाक्टर प्रतिक आचार्य नेतृत्वको टिमले अत्यन्त ठूलो जोखिम मोलेर सफल शल्यक्रिया गर्यो’ डा.बिक पोख्रेलले भने–‘डाक्टरहरुको यो कार्यले अस्पताललाई ठूलो उपलब्धी मिलेको छ ।’

अस्पताल विकास समितिका अध्यक्ष केबि राना मगरले ८६ वर्षीया महिलाको सफल शल्यक्रिया गरेर उत्कृष्ट मानवीय कार्य गरेको उल्लेख गरे । उनले धौलागिरी अस्पतालमै जटिल प्रकारको अप्रेशन सफल भएपछि ग्रामीण भेगका नागरिकलाई ठूलो राहत भएको बताए ।

थापाको गत भदौ २४ गते सुत्ने बेलामा ट्वाईलेट जाँदा लडेर हड्डी भाँचिएको उनका नाती सोमबहादुर थापाले बताए । त्यही समयमा अस्पताल आएपनि उनले अप्रेशन गर्न मानेका थिएनन् । अप्रेशन नगरि घरमै बसेकी थापालाई झनै समस्या भएपछि मंगलबार मात्र अस्पताल भर्ना भएकी थिईन । डाक्टरहरुको लामो समयको परामर्शपछि उनी शल्याक्रियाको लागि तयार भएकी थिईन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here