
अर्जुन कार्की
बागलुङ, ३१ भदौ । नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले माधव नेपाल एक दिन एमालेमा ओत लाग्न आउने बताउनुभएको छ ।
नेकपा एमाले जिल्ला शाखा बागलुङले बुधबार आयोजना गरेको जिल्ला स्तरिय कार्यकर्ता भेलामा बोल्दै स्थायी कमिटि सदस्य पाण्डेले माधव नेपालले आफैले प्रस्ताव गरेको मुद्धामा सहमति गरेपछि पार्टी एकता नगर्ने कुरा गलत रहेको र त्यो कुनै दिन समिक्षा हुने बताउनुभयो । ‘एमाले विभाजन गर्ने षड्यन्त्र भित्र अनेक शक्तिहरुको खेल रहेको र यसलाई पराजित गरि एमाले विभाजन हुन नदिने भनेर पार्टीले आफुसहित १० भाईको कार्यदल गठन गरेको थियो,’ पाण्डेले भन्नुभयो–‘हामीले १० बुँद्धेमा सहमति खोज्ने कोषिश गर्यौं । माधव नेपालले अन्तिममा त्यसमा उभिनुभएन । यो गलत कुरा हो । आफैले प्रस्ताव गरेको मुद्धामा सहमति गरेपछि पार्टी एकता नगर्ने कुरा गलत हो । उहाँको यो काम, यो कदमको कुनै दिन समिक्षा होला ।’
नेता पाण्डेले पार्टीलाई जोगाएर लगेमा माधव नेपाल पनि एमालेमा फर्किने र ओत लाग्न आउने भन्दै सम्पूर्ण नेता कार्यकर्ताले एमालेको एकता जोगाउनुपर्ने बताउनुभयो । ‘हामीले यो पार्टीलाई जोगाएर लगेर गयौंभने माधव नेपालको पनि ओत यहि हुने छ । उहाँ एमालेमा फर्किनुपर्नेछ र ओत पाउनुहुनेछ,’ पाण्डेले भन्नुभयो–‘यदि यो आन्दोलन सकियो र पार्टी सकियो भने उहााको ओत पनि जाने छ र हामी बसेको घर पनि समाप्त हुनेछ । त्यसकारण नेकपा एमाले जागाउनु र एमालेको एकता जोगाउनु सम्पूर्ण नेता कार्यकर्ताको जिम्मेबारी हो । सबै एक्यबद्ध भएर लागौं ।’
नेता पाण्डेले माओवादी त्यागेर एमालेमा बस्नुभएका नेताहरुको व्यवस्थापनको लागि पनि १० बुद्धे सहमतिमा स्पष्ट लेखिएको बताउनुभयो । उहाँले भन्नुभयो–‘माओवादी त्यागेर एमालेमा रहनुभएका नेताहरु नेकपा कालमा जुन पदमा रहनुभएको थियो सोहि पदमा रहने र समस्या समाधान गर्न कार्यदलमा समेत समावेश गरेको छौं ।’
उहाँले गण्डकी प्रदेशमा एमाले फूटको न्यून मात्रै प्रभाव परेको भन्दै एमाले अझै बलियो बनेर आगामी निर्वाचनमा होमिन आम नेता कार्यकर्ताहरुलाई आग्रह गर्नुभयो । ‘गण्डकी प्रदेशमा एमाले फुटको प्रभाव न्यून मात्रै छ,’ नेता पाण्डेले भन्नुभयो–‘गण्डकीमा काँग्रेसको बढि प्रभाव भएको प्रदेश पनि हो त्यसैले काँग्रेसलाई पराजित गर्न र मुकाबिला गर्न हामीले हिजो भन्दा पनि थप संकल्प गर्नुपर्छ । पार्टीलाई नयाँ उर्जाका साथ नयाँ गतिका साथ अगाडी बढाउनुपर्नेछ ।’















