
अर्जुन कार्की
बागलुङ, २४ भदौ । जिल्ला प्रहरी कार्यालय बागलुङले विगत दुई दशकदेखि किनारा नलागेका मुद्दाका फाईल खोलेको छ । अनुसन्धान पुरा नभएको भन्दै अदालतबाट फिर्ता भई थन्केका ज्यान सम्बन्धी मुद्दा पुनः अनुसन्धान गर्न थालेको हो ।
घटना नम्बर १
मितिः २०५८ असार २४ गते
२०५८ असार २४ गते साविकाको हरिचौर गाविस वडा नम्बर ५ र ८ को विचमा पर्ने दरकमखोलामा एक महिलाको शब फेला पर्यो । तत्कालिन समयमा प्रहरी सहायक निरिक्षक (असई) गोपाल बहादुर थापाको टोलीले खोलामा शब फेला पारेको थियो ।
प्रहरीले अनुसन्धान गर्दा साविक हटिया गाविस– २ बस्ने महिलाको शब भएको पुष्टि भयो । मृतकको पहिचान दिदीले खुट्टा हेरेर पत्ता लगाएपछि दिदीले नै जाहेरी दिनुभयो । उहाँले हटिया–२ कै ३७ बर्षिय ढालेन्द्र बहादुर कार्की र आफ्नो बहिनीको सम्बन्ध रहेको भन्दै समाज बोलाएर दुई जनालाई राखेर नै बहिनीलाई कार्कीको जिम्मा लगाइ पठाएको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो । बहिनी जिम्मा दिएको केहि दिनमै शब फेला पर्नुले कार्कीले नै हत्या गरेको जाहेरीमा उल्लेख छ ।
जाहेरी परेपछि प्रहरीले असार ३० गते ढालेन्द्र बहादुर कार्कीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो । प्रहरीले अनुसन्धान गरी २०५८ साउन २४ गते जिल्ला अदालतमा अनुसन्धानको मिसिल (फाइल) पठाए पनि अदालतले अनुसन्धान पुरा नभएको र कार्कीले मृतकलाई स्विकारी लगे नलगेको उक्त समयमा उपस्थित भएका अन्य नागरिकलाई सोधी अनुसन्धान गर्न र आरोपितलाई प्रहरीले बोलाएको समयमा हाजिर हुन आदेश दिइ छोडिदिएको थियो ।
जिल्ला प्रहरी कार्यालयले २०७८ असार १३ गते बुझ्नुपर्ने मान्छेहरुलाई फेला पारेर अनुसन्धान गरी पुनः उक्त मिसिल जिल्ला अदालतमा बुझाएको थियो । प्रहरीले तत्कालिन समयमा कार्कीले मृतक महिलासँग आफ्नो सम्बन्ध रहेको र स्विकार गरेर लगेको भन्ने साँक्षीलाई असार १३ गते फेला पारेर अनुसन्धान गरेको हो । यतिको बर्षसम्म फेला पर्न किन नसकेको भन्ने प्रश्नमा प्रहरीले उनीहरु कोहि बैदेशिक रोजगारिको लागि बाहिर गएको र कोहि विरामी भएकोले औषधि उपचारको लागि अन्य देशमा गएको भन्ने प्रहरीलाई बयान दिएको थियो ।
प्रहरीले असार १३ गते नै अदालतमा उक्त मुद्धा पेश गरेपनि आरोपित कार्की फेला परेनन् । प्रहरीले खोजी जारी राखि साउन ५ गते घरबाट नै पक्राउ गरी जिल्ला अदालतमा हाजिर गराएको थियो । अदालतले कार्कीलाई १ लाख धरौटीमा तारेखमा छोडेको छ ।
प्रहरीले तत्कालिन समयमा गरेको अनुसन्धानमा कार्कीले आफुले उक्त महिलालाई स्विकार गरि लगेपछि सोहि समयमा हटिया स्वास्थ्य चौकीमा बच्चा भएनभएको परिक्षणको लागि गएको तर चौकी बन्द भएकोले फर्कने क्रममा महिलाले दिदीकोमा जान्छु भन्दै हिडेको तर पछि शब फेला परेको बयान दिएका छन् । उनले १, २ दिनसम्म पनि महिला घरमा नआएकोले स्थानीयहरुसँग मिलेर खोजी गरेको र महिलाको दिदीकोमा पनि खोजीको लागि स्थानीयलाई पठाएको प्रहरीलाई बयान दिएका छन् ।
मृतककी दिदीले कार्कीलाई जिम्मा लगाएर पठाएपछि बहिनी आफ्नो घरमा नआएको र पछि शब फेला परेको प्रहरीलाई बयान दिनुभएको छ । प्रारम्भिक पोष्टमार्टम् रिपोर्टमा पानीमा डुबेको कारणले सास रोकिएको र त्यो बेला महिलाको पेटमा ४ महिनाको बच्चा रहेको बताइएको छ । घटनाको फैसला हुन बाँकी छ ।
घटना नम्बर २
मितिः २०५८ जेठ १३ गते
बागलुङ नगरपालिका– ६ का १७ बर्षिय भीम बहादुर विक लगायत ६ जना युवाहरु २०५८ जेठ १३ गते बेपत्ता भए । २०५८ जेठ १३ गते कालिका भगवती मन्दिरमा आफन्तको ब्रतबन्धमा आएका विकको टोली बागलुङ नगरपालिका–१ मालढुंगामा खाजा खाएर बाहिर हासोठट्टा गर्दा होहल्ला भएको भन्दै स्थानीयसँग झगडा भयो । झगडा पछि साविक बागलुङ नगरपालिका–६ का भीम बहादुर विक सहित ६ जना युवाहरु बेपत्ता भए ।
प्रहरीले २०५८ जेठ १५ गते भीम बहादुर विकको शब नारायणस्थान–९ तालखोला कालिगण्डकी किनारमा फेला पारेको थियो । अन्य युवाहरुले पछि परिवारको सम्पर्कमा आए ।
विकको शब फेलापरेपछि उनका बुबा ४७ बर्षिय ओमबहादुर विकले सनाखत गरी मालढुंगाबाट लखेटेर बानपा–१ कै खुद्रेकेमा ६ जनालाई घेरा हालेर भीम बहादुरलाई मारेर खोलामा फालेको भन्दै प्रहरीमा जाहेरी दिनुभएको थियो ।
पर्वत शालिजा–६ का ६० बर्षिय चन्द्र बहादुर पुन, बागलुङ रुद्रेपिपलका २२ बर्षिय केदार खत्री, उनका बुबा र आमा, बानपा–१ रामरेखाका ६५ बर्षिय छविलाल पौडेल, भकुण्डे–९ का ४७ बर्षिय खडक बहादुर शाहि, बानपा–१ का २३ बर्षिय केदार शर्मा, २० बर्षिय दयाराम पौडेल, बानपा–१ का कृष्णप्रसाद उपाध्याय, ७७ बर्षिया हरिकला उपाध्याय, पाङ–५ पर्वतका ५७ बर्षिय कृष्णप्रसाद शर्मा सुवेदी, सिगाना चनौटेका २४ बर्षिय दिपक मल्ल, पाङ–४ पर्वतका २३ बर्षिय राम बहादुर क्षेत्री, ४३ बर्षिय रमेश लामा, २५ बर्षिय कृष्ण श्रेष्ठ र जीत बहादुर भण्डारीलाई प्रतिवादी बनाएर जाहेरी दिनुभएको थियो ।
प्रहरीले विस २०५८ असार ३ गते जीत बहादुर भण्डारी, छविलाल पौडेल, खडक बहादुर शाही र चन्द्र बहादुर पुनलाई पक्राउ गरी अनुसन्धान अगाडी बढाएको थियो । प्रहरीले अनुसन्धान गरी असार २७ गते जिल्ला अदालतमा मिसिल (फाइल) पठाए पनि फरार आरोपि पक्राउ गरी अनुसन्धान गर्ने भन्दै फाइल फिर्ता पठाएको र हिरासतमा रहेका चार जनालाई प्रहरीको सम्पर्कमा रहनुभन्दै रिहा गरिदिएको थियो ।
सोहि समयमा गरिएको अनुसन्धानमा बेपत्ता भएकाहरुले आफुहरुलाई लखेटेर घेरा हालेको तर आफुहरु त्यहाँबाट भागेर बाँचेको प्रहरीमा बयान दिएका थिए । प्रहरीले २०७८ सालमा २० बर्ष वित्तिसकेका फाइल खोल्दा अहिले आरोपित नभेटिएकोले फाइल पुनः जिल्ला अदालतमा बुझाएको थियो । अदालतले हाजिर हुन भन्दै आरोपितहरुको घरमा प्रहरीलाई पठाएर अदालतमा हाजिर हुन सूचना टाँसेको थियो ।
अदालतले सूचना गरेपछि भदौ ११ गते कृष्णप्रसाद उपाध्याय र हरिकला उपाध्याय अदालतमा हाजिर भएका थिए । उनीहरुलाई अदालतले सोहिदिन साधारण तारिकमा छोडेको छ ।
आरोपितहरु मध्य १ जनाको मृत्यु भइसकेको भन्ने जानकारी आएको र अरुलाई हाजिर हुन आदेश दिइएको जिल्ला अदालत बागलुङका नायव सुब्बा ऋषिराम रिजालले जानकारी दिनुभयो ।
उल्लेखित दुवै घटना २० वर्ष अगाडीका हुन् । जिल्ला प्रहरी कार्यालय बागलुङले पुराना मुद्धाहरुको फाइल खोल्न सुरु गरेसँगै दुई घटनाको अनुसन्धान पुरा गरि अदालतमा पेश गरेको हो । प्रहरी कार्यालयमा ३० वटा पुराना मुद्धाहरु दर्ता छन् । अनुसन्धान पुरा नभएको भन्दै अदालतबाट फिर्ता आएका मुद्धाको थप अनुसन्धान गरी पुनः अदालतमा पेश गर्न थालेकोे जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक बिजय भण्डारीको भनाई छ ।
प्रहरी निरीक्षक भण्डारीले २० वर्ष अगाडीका मुद्धाहरुको पुनः अनुसन्धान गर्न चुनौति रहेको बताउनुभयो । घटना हुँदा जन्मदर्ता र नागरिकता नभएका आरोपिले नाम नै परिवर्तन गर्दा अनुसन्धानमा समस्या भएको प्र.नि भण्डारीको भनाई छ । बागलुङमा पुराना मुद्धा बाँकी रहनुमा भौगोलिक विकटतासमेत चुनौति बनेको थियो । अदालतले अनुसन्धान पुरा नभएको भन्दै पक्राउ परेकाहरुलाई २४/२५ दिनपछि हिरासतमा राख्न नमिल्ने भएको कारण प्रहरीमा हाजिर हुन भन्दै छोडेपछि उनीहरु फरार हुने गरेका थिए ।
पुराना मुद्धाको डकुमेन्ट त्यहि अनुसारको हुने र कागजमा लेखेको कुरा नबुझिने गरेको जिल्ला अदालत बागलुङले जनाएको छ ।
रुपा गौतम हत्याको अनुसन्धान जारी छः भण्डारी
बागलुङको चर्चित घटनामा पर्छ रुपा हत्या काण्ड । ७ वर्ष अगाडी (२०७१ भदौ १२ गते) साविकको बागलुङ नगरपालिका–५ (हाल बागलुङ नगरपालिका–३) बोक्से गैरामा साँझ रुपा गौतमको घाँटीमा धारिता हतियार प्रहार गरी हत्या गरिएको थियो ।
मध्यपहाडी लोकमार्गमा साँझको समयमा विच सडकमै एक महिलाको घाटीमा धारिलो हतियार प्रहार गरी हत्या गरिएको उक्त घटनाको दोषिलाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । हरितालिका तिजको बेला माइती पाङ गएर घर दोविल्ला फर्कदै गर्दा जिल्ला प्रहरी कार्यालयबाट ३० मिनेटको दुरीमा पर्ने बोक्से गैरोमा हत्या हुँदा पनि प्रहरीले पक्राउ गर्न सफल नहुँदा हरेक पटक प्रहरी प्रमुखहरु परिवर्तन भएर नयाँ आउँदा धेरैले सोध्ने घटनाको रुपमा रुपा गौतम हत्या काण्डलाई लिइन्छ ।
उक्त घटनालाई नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी)ले अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरिक्षक भण्डारीले रुपा गौतम हत्या काण्डको अनुसन्धान भइरहेको बताउँछन । परिमाण आउँदैन । प्रहरीले सोधपुछ र अनुसन्धान जारी रहेको रिडिमेट जवाफ दिन्छ । ‘अनुसन्धान जारी रहेको छ,’ प्रनि भण्डारीले भन्नुभयो–‘अहिले पनि केहि व्यक्तिहरुसँग बुझ्ने काम भइरहेको छ । ढिलो चाडो हत्यारा पत्ता लगाउने छौं ।’ ‘प्रहरी कार्यालयमा दर्ता भएका सवै मुद्धाहरुको अनुसन्धान भइरहेको छ,’ प्रनि भण्डारीले भन्नुभयो–‘हरेक हप्ता प्रदेश कार्यालय र केन्द्रीय कार्यालयमा हामीले सवै घटनाहरुको प्रगति विवरण बुझाउनुपर्छ । त्यसैले हामीले सवै घटनाको अनुसन्धान जारी राखिरहेका छौ ।’










