बागलुङ–पर्वत जोड्ने झोलुङ्गे पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’

बागलुङ, २३ भदौ । बागलुङ र पर्वत जोड्ने सिङ्गल स्पान प्रविधिमा विश्वकै लामो दाबी गरिएको झोलुङ्गे पुललाई ‘गण्डकी गोल्डेन ब्रिज’ नामाकरण गरिएको छ ।

५६७ मिटर लामो झोलुङ्गे पुलको संरक्षणकर्ताको रुपमा रहेको बागलुङ नगरपालिकाको कार्यापालिका बैठकले मंगलबार पुलको नामाकरण गरेको नगरपालिकाका प्रमुख जनकराज पौडेलले बताउनुभयो ।

६ महिना अगाडी नगरपालिकाले पुलको उद्घाटन गरेर नामाकरणका लागि आवेदन माग गरेको थियो । पुलको उत्कृष्ट नाम छनोटमा पर्नेलाई रु. २५ हजार राशीको पुरस्कार समेत घोषण गरेको बागलुङ नगरपालिकाले पुलको नाम ‘गण्डकी गोल्डेन ब्रिज’ नेपालीमा ‘गण्डकी सुनौलो झुला’ नामाकरण गरेको नगरप्रमुख पौडेलले जानकारी दिनुभयो ।

पुलको नामाकरणका लागि पेश भएका नामबाट उत्कृष्ट नाम छनोटका लागि नगरउपप्रमुख सुरेन्द्र खड्काको संयोजकत्वमा छनोट समिति गठन गरिएको थियो । उक्त समितिले सूचनाका आधारमा प्राप्त भएका नाममध्येबाट कार्यपालिका बैठकमा उत्कृष्ट १० नाम सिफारिस गरेकोमा ‘गण्डकी गोल्डेन ब्रिज’ नाम स्विकृृत भएको हो ।

उक्त पुलको नाम बानपा–५ मालिका निवासी निजामती सेवामा कार्यरत घनश्याम सापकोटाले पेश गरेका हुन् । उहाँलाई नगरपालिकाले २५ हजार रुपैयाँ पुरस्कार प्रदान गर्ने भएको छ ।

 

बागलुङ नगरपालिका–१ रामरेखादेखि पर्वत जिल्लाको कुस्मा नगरपालिका–१ अदुवाबारी जोड्ने कालिगण्डकी नदी माथी निर्माण गरिएको ‘सिङ्गल स्पान’ प्रविधिमा ५६७ मिटर लामो बनेको संसारकै लामो पुलको भएको भन्दै ‘गिनिज बुक अफ द वर्ड’मा दर्ता गराउन निवेदन दिएको छ ।

पुलको बागलुङतर्फ नजिकै रहेको प्रसिद्ध बागलुङ कालिका भगवतीको मन्दिर, छेवैमा बन्दै गरेको बाङ्गेचौर रङगशाला, शालिग्राम बग्ने प्रसिद्ध कालीगण्डकीको महिमा र ज्योतिशहरूको गाउँ पाङलगायत महत्वपूर्ण क्षेत्रसँग जोडिएकाले यो पुलको विशेषता र महत्व निकै फराकिलो छ । पुलमा बत्ति जडान गरिएकोले रातीको समयमा समेत पर्यटकहरुलाई आकर्षित गर्ने गरेको छ ।

पर्वतको पाङ र बागलुङ बजार ओहोरदोहोरमा सहजताका लागि बनाइएको पुल उद्घाटन पश्चात् आन्तरिक पर्यटकको रोजाइँमापर्ने गरेको छ । यो पुलमा दैनिक हजार बढी पर्यटक आउने गरेको नगरपालिकाको दाबी छ । पुलबाट देखिने हिम शृङ्खला, कालीगण्डकीको बहाव र हरियाली डाँडाकाँडाले शहरीया जनजीवनमा आत्तिएका आन्तरिक पर्यटकलाई भुलाउने गरेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here