
बागलुङ, २२ भदौ । नेकपा एमाले र जनता समाजवादी पार्टी विभाजनपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई नयाँ दल रोज्न दिएको समय मंगलबार सकिएको छ । विभाजनपछि बागलुङका एमालेका ७ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेका छन् ।
नेकपा एमालेबाट निर्वाचित ४ जना जनप्रतिनिधिले सोमबार र ३ जना जनप्रतिनिधिले मंगलबार जिल्ला निर्वाचन कार्यालय बागलुङमा पुगेर नेकपा (एकीकृत समाजवादी)मा सनाखत गरेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख ओमनारायण ढुंगानाले बताउनुभयो ।
नेकपा एकीकृत समाजवादीमा बागलुङ नगरपालिका वडा नम्बर २ का वडाअध्यक्ष जीवन आचार्य, बागलुङ नगरपालिकाकी कार्यपालिका सदस्य सिता थापा, ढोरपाटन नगरपालिका–९ का वडाअध्यक्ष हरि घर्ति र ढोरपाटन नगरपालिका–९का वडासदस्य यामु कामीले सोमबार निर्वाचन कार्यालय बागलुङमा पुगेर सनाखत गरेका थिए ।
यस्तै मंगलबार काठेखोला गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष याम बहादुर श्रीस, जैमिनी नगरपालिका कार्यपालिका सदस्य बलबहादुर नेपाली र बागलुङ नगरपालिका वडा नम्बर २ का वडासदस्य सुरज बोसेलले सनाखत गरेका हुन् ।
बागलुङका स्थानीय तहमा एमालेबाट निर्वाचित प्रमुख र उपप्रमुखहरुले भने पार्टी परिवर्तन गरेनन् । बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, काठेखोला गाउँपालिकाका अध्यक्ष अमर बहादुर थापा, ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली, उपप्रमुख करमती पुन मगर, बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाइजा र जैमिनी नगरपालिकाका उपप्रमुख लिला राना एमाले नै रोजेका छन् ।
यस्तै बागलुङबाट प्रतिनिधित्व गरिरहेका प्रतिनिधिसभा सदस्य सुर्य पाठक र मनकुमारी जिसी, गण्डकी प्रदेशसभा सदस्य इन्द्रलाल सापकोटा र सावित्रा राना एमालेमै रहेका छन्भने राष्ट्रियसभा सदस्य शान्ति अधिकारी जिसीले नेकपा (एकीकृत समाजवादी) रोजेकी छिन् ।












