मध्यपहाडी लोकमार्गको भीमगिठे–बुर्तिबाङ सडक खण्ड अवरुद्ध

बागलुङ, २१ भदौ । बागलुङको बडिगाड गाउँपालिका–७ तुरतुरे स्थित बडिगाड खोलाले मध्यपहाडी लोकमार्ग कटान गर्दा यातायात सेवा अवरुद्ध भएको छ ।

लोकमार्ग अन्तर्गत बागलुङ–बुर्तिवाङ खण्डको बगिगाड खोलाले तुरतुरेको करिब चार सय मिटर सडक कटान गरेको हो । बाढीले सडकको तल्लो भाग पुरै बगाएको छ ।

सडक अवरुद्ध हुँदा पश्चिम बागलुङको जनजीवन प्रभावित भएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाईजाले जानकारी दिनुभयो । गाउँपालिकाले स्काभेटर प्रयोग गरेर सडक एकतर्फी खुलाउने प्रयास गरेको छ । बाढीले गत बर्ष निर्माण गरेको करिब पाँच सय मिटर ग्याविन जाली बगाएको अध्यक्ष पाईजाको भनाई छ ।

स्काभेटरले सडक खुलाउन नसके जेसिभी प्रयोग गर्ने उहाँले बताउनुभयो । मध्यपहाडी लोकमार्ग पश्चिम क्षेत्रको लाइफलाइन सडक हो । सडक अवरुद्ध हुँदा ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका, निसीखोला गाउँपालिका तथा रुकुम क्षेत्रका स्थानीय बागलुङ बजार जान सकेका छैनन् ।

त्यस्तै सालझण्डी ढोरपाटन सडक खण्ड अन्तर्गत ढोरपाटन– ९ बोबाङ क्षेत्रका विभिन्न स्थानमा बाढीले सडक बगाएपछि उक्त सडक खण्ड पुनः अवरुद्ध भएको छ । दुई साता अगाडी पनि यो सडक खण्ड अवरुद्ध बनेको थियो । तमानखोलामा यस वर्षकै अत्यधिक मात्रामा आएको बाढीले तमानखोला गाउँपालिका अन्तर्गत खुङ्खानी, बोङगादोभान लगायतका ग्रामीण क्षेत्रका अधिकांश सडक बाढी पहिरोका कारण अवरुद्ध बनेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here