
बागलुङ, ९ भदौं । बागलुङ नगरपालिकाले निषेधाज्ञाको उल्लंघन गरेर अनावश्यक रुपमा सडकमा हिड्डुल गर्नेहरुको सडकमै एन्टीजेन मार्फत कोरोना भाइरस (कोभिड–१९) परीक्षण गरेको छ ।
नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार बागलुङ नगरपालिका वडा नम्बर २ स्थित लोकतान्त्रीक चोकमा निषेधाज्ञा उल्लंघन गरी हिड्डुल गर्नेहरुको एन्टीजेन परीक्षण गरेको स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले बताउनुभयो । उहाँले सोमबारदेखि बजारको विभिन्न चोकमा छड्के रुपमा एन्टीजेन परीक्षण गरिरहेको जानकारी दिनुभयो ।
बुधबार लोकतान्त्रीक चोकमा ९३ जनाको एन्टीजेन परीक्षण गरिएको थियो । सवैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य शाखाका प्रमुख खनालले बताउनुभयो । उहाँले निषेधाज्ञाको लक्षण भएपनि परीक्षण गर्न नआएकोले लक्षण भएमा परिक्षण गर्नुपर्छ भन्ने जनचेतना होस् भनेर छड्के रुपमा सडकमै एन्टीजेन परिक्षण गर्न सुरु गरेको बताउनुभयो । ‘बजारमा अझै पनि लक्षण भएकाहरु पिसिआर र एन्टीजने परीक्षणको लागि आउँदैनन्,’ शाखा प्रमुख खनालले भन्नुभयो–‘आफ्नो स्वास्थ्यको ख्याल आफै गर्नुपर्छ र लक्षण देखिएमा तुरुन्त स्वास्थ्य शाखामा खबर गर्न र अस्पतालमा गएर परीक्षण गर्न जनचेतना जगाउनको लागि यो अभियान सुरुवात गरेका हौं ।’
प्रमुख खनालले सोमबार बानपा–३ नागचोकमा परीक्षण गर्दा १ जनालाई संक्रमण पुष्टि भएको बताउनुभयो । उहाँले लक्षण भएपनि परिक्षण नगराउने र निषेधाज्ञाको बेला विनाकाम बाहिर हिड्डुल गर्नेहरु रहेकाले अभियानलाई जारी राखेको बताउनुभयो । उहाँले परिक्षणको बेला लक्षणदेखिएमा परिक्षण गर्न आउन र विना काम घरबाट बाहिर ननिस्किन सुझाव दिएको बताउनुभयो ।
जिल्लामा सवैभन्दा धेरै सक्रिय संक्रमितहरु बागलुङ नगरपालिकामा रहेका छन् । बुधबार बागलुङ नगरपालिकामा १ सय ४१ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ । बागलुङ नगरपालिकामा पछिल्लो २४ घण्टामा ३३ जनालाई कोरोना संक्रमित पुष्टि भएको छ ।
बागलुङमा भदौं १० गते राती १२ बजेसम्म कडा निषेधाज्ञा गरिएको छ ।









