धौलागिरी अस्पतालमा जनशक्ति अभाव, समयमै उपचार नपाएको विरामीको गुनासो

बागलुङ, ८ भदौ । धौलागिरी अस्पताल बागलुङमा दरबन्दी अनुसार मेडिकल अधिकृत, विशेषज्ञ र चिकित्सकहरु अस्पतालनमा नहुँदा सर्वसाधरण मारमा परेका छन् ।

कोरोना महामारीका बीच पनि सवै किसिमका सेवा प्रवाह गर्दै आएको अस्पतालमा दरबन्दी अनुसारका चिकित्सकहरु नहुँदा सेवा प्रवाहमा समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवि राना मगरले बताउनुभयो ।

सोह्र जना स्थायी विशेषज्ञको दरबन्दी रहेको अस्पतालमा हाल एक जनामात्रै विशेषज्ञ चिकित्सक (निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्ट शैलेन्द्र वि.क. पोखरेल) कार्यरत रहनुभएको छ । अस्पतालमा अहिले १० जना विशेषज्ञ चिकित्सक करारमा कार्यरत छन् । उनीहरु छात्रवृत्ति करारको हुन् ।

यस्तै छ जना स्थायी दरबन्दी रहेको मेडिकल अधिकृतमध्ये अहिले एक जनामात्रै अस्पतालमा कार्यरत रहनुभएको छ । मेडिकल अधिकृत रविनबाबु पौडेलको पनि सरुवा पत्र आइसकेकोले अब मेडिकल अधिकृत नहुने पक्का भइसकेको अस्पतालका मेडिकल रेकडर नवराज पौडेलले बताउनुभयो । उहाँले अस्पतालमा अहिले जम्मा पाँच जना मेडिकल अधिकृत कार्यरत रहेको र दुई जनाको करार अवधि सकिन दुई महिना मात्र आवधि रहेको बताउनुभयो । अस्पतालमा अहिले दुई जना फिजिसिन हुनुहुन्छ ।

अस्पतालमा दरबन्दी अनुसारको विशेषज्ञ चिकित्सकहरु नहुँदा उपचारमा समस्या भएको मेडिकल रेकडर पौडेलले बताउनुभयो । उहाँले चिकित्सक र मेडिकल अधिकृतहरुको अभाव रहेको र करारमा रहेका मेडिकल अधिकृतहरुको पनि अवधि सकिन लागेकोले उपचारमा उप समस्या हुने बताउनुभयो ।

राज्यले चिकित्सकहरु नपठाउँदा सेवाग्राहीहरुलाई सहजरुपमा सेवा प्रवाह गर्न गाह्रो भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले बताउनुभयो । उहाँले आफुहरुले केन्द्र सरकार र प्रदेश सरकारलाई पटक पटक आग्रह गर्दा समेत चिकित्सकहरु नपठाएको बताउनुभयो ।

जनशक्ति अभावले बन्द हुने अवस्थामा आइसियु
जनशक्ति अभावकै कारण धौलागिरी अस्पतालमा रहेको सघन उपचार कक्ष (आइसियु) बन्द हुने अवस्थामा पुगेको छ । गण्डकी प्रदेशको तत्कालिन सामाजिक विकास मन्त्रालयले तीन महिना अघि पाँच जना मेडिकल अधिकृतको सरुवा पछि डाक्टर नपठााउँदा आइसियु सेवा बन्द गर्ने अवस्थामा पुगेको अस्पतालले जनाएको छ ।

धौलागिरी अस्पतालमा तीन बेडको आइसियु र दुई भेन्टिलेटर सहितको सघन उपचार कक्ष संचालनमा रहेको छ ।

तत्कालिन सामाजिक विकास मन्त्रालयले तत्कालै अन्य डाक्टर पठाउने शर्तमा डा. प्रनिता राजभण्डारी, सुप्रिया पौडेल र आकाश चित्रकार लगायत पाँच जना डाक्टरको एकै साथ सरुवा गरेको थियो । कोरोना महामारीको कारण ओपिडी सेवा बन्द भएको अवस्थामा डाक्टरको सरुवा पश्चत अन्य मेडिकल अधिकृतलाई आइसियुको जिम्मेबारी दिएर सञ्चालनमा ल्याएपनि अहिले ओपिडी संचालन भएको र हालसम्म डाक्टर थप हुनुको सट्टा घट्दै जान थालेपछि आइसियु सेवा बन्द हुने अवस्थामा पुगेको अस्पतालका मेडिकल निमित्त मेडिकल सुपरिटेण्डेन्ट डाक्टर शैलेन्द्र विक पोखरेलले बताउनुभयो ।

डाक्टर पोखरेले अस्पतालमा जनशक्ति नहुँदा काम गर्न गाह्रो भएकोले डाक्टर ल्याउनको लागि काठमाडौं र पोखरा धाइरहेको भएपनि कतैबाट सुनुवाई नभएको गुनासो गर्नुभयो । उहाँले अहिले अस्प्तालमा करारमा रहेका डाक्टरहरुको पनि समय सकिन लागेकोले तत्कालै चार पाँच जना मेडिकल अधिकृत ल्याउन नसके आइसियु सेवा बन्द गर्नुपर्ने अवस्था आउने बताउनुभयो ।

जनशक्तिको अभावले समयमै सेवा पाउँदैनन् विरामी
अस्पतालमा समयमै उपचार नपाएको विरामीहरुले गुनासो गरेका छन् । अस्पतालमा जनशक्ति अभाव रहेपनि कार्यरत डाक्टरहरुले समयमा सेवा नदिँदा विरामीहरुले समयमै उपचार नपाएको गुनासो गरेका हुन् । मंगलबार उपचार गराउन विहान साढे ९ बजे अस्पताल पुगेका काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जाका मेघनाथ निउरेले डाक्टर साढे ११ बजेसम्म नआएको गुनासो गर्नुभयो । उहाँले ओपिडिमा टिकट काटेर लाइनमा बसेपनि साढे ११ बजेसम्म डाक्टर नआएको गुनासो गरेका हुन् ।

यता अस्पताल प्रशासनले भने विशेषज्ञ चिकित्सक र डाक्टरहरुको अभाव रहेको र अहिले कार्यरत डाक्टरहरुले आइसोलेसन र ओपिडि हेर्नुपर्ने भएकाले ढिलो भएको हुन सक्ने बतायो ।

अस्पतालका मेडिकल रेकडर पौडेलले मंगलबार डियुटिमा रहेका डाक्टर आफै अस्वस्थ भएको कारण ढिलो आएको जानकारी गराएको बताउनुभयो । ‘विरामीहरुको गुनासो आएपछि हामीले डाक्टरलाई सम्पर्क गरेका थियौ, उहाँले भन्नुभयो–‘डाकटरले आफु अस्वस्थ रहेकोले डियुटीमा आउन ढिलो भएको बताउनुभयो ।’

बागलुङलाई सुगममा राखिएपछि आउन मानेन डाक्टर
स्वास्थ्य क्षेत्र अन्तरगत बागलुङ जिल्लालाई सुगम जिल्लामा समावेश गरिएपछि चिकित्सकहरु धौलागिरी अस्पतालमा आउन नमानेको अस्पताल व्यवस्थापन समितिले बताएको छ ।

पहिले दुर्गमको सुचिमा समावेश बागलुङ अहिले सुगममा परेपछि डाक्टरहरु बागलुङ आउन नमानेको प्रदेश र केन्द्र सरकारले जनाएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रानाले बताउनुभयो । ‘अहिले बागलुङलाई सुगम जिल्लामा समावेश गरिएको रहेछ,’ अध्यक्ष रानाले भन्नुभयो–‘ बढुवा र सरुवाको लागि सुगमको जिल्लामा काम गरेमा कम नम्बर र दुर्गममा काम गरे बढी नम्बर आउने, दुर्गम जिल्लामा काम गरेमा पढ्न जान पाइने भएकोले डाक्टरहरु आउन नमानेको भन्ने जानकारी पाएका छौं ।’

आफूले चिकित्कसको दरबन्दीको विषयमा पटक–पटक प्रदेश मन्त्रालयमा कुरा उठाए पनि सुनुवाइ नभएको अध्यक्ष रानाले बताउनुभयो । अध्यक्ष रानाले भएका चिकित्सकहरुको पनि सरुवा गरिदिने र नयाँलाई नपठाउने गरेकोले अहिले जनशक्ति अभाव भएको बताउनुभयो । ‘मैले हिजो पनि प्रदेशमा मुख्यमन्त्री, स्वास्थ्यमन्त्री र अर्थमन्त्रीसँग डाक्टर पठाइदिन कुरा गरे,’ अध्यक्ष रानाले खबरवेसँग टेलिफोनमा कुरा गर्दै भन्नुभयो–‘उहाँहरुले विज्ञापन गरेर मात्र डाक्टर पठाउन सक्ने बताउँदै विज्ञापन गर्दैछौं भन्नुभयो ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here