बागलुङमा भदौ १० गतेसम्म निषेधाज्ञा थप

बागलुङ, ४ भदौ । बागलुङमा थप पाँच दिन निषेधाज्ञा थप गरिएको छ ।

शुक्रबार बसेको जिल्ला कोभिड व्यवस्थापन केन्द्र (डिसिएमसि)को बैठकले कोरोना संक्रमण दरलाई विश्लेषण गरेर भदौ १० गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शिव कुमार कार्कीले जानकारी दिनुभयो । उहाँले भदौ ५ गते राती १२ बजेदेखि १० गते राती १२ बजेसम्म जिल्लाभर लागू हुनेगरी निषेधाज्ञाको समयवधि थप गरी थप कडाई गर्ने निर्णय गरेको बताउनुभयो ।

बैठकले दैनिक उपभोग्य खाद्यान्न पसलहरु स्वास्थ्य सुरक्षाका मापदण्डहरुको पूर्ण पालना गरी विहान १० बजेसम्म संचालन गरिने र खाद्यसामाग्री तथा पशुपंक्षीका दानाका पसल र ढुवानी आईतबार, बुधबार र शुक्रबार विहान १० बजेसम्म संचालन गर्ने निर्णय गरेको प्रजिअ कार्कीले बताउनुभयो ।

बैठकले लोकसेवा आयोग, प्राविधिक तथा व्यवसायिक तालिम परिषद्को परीक्षा भने सम्बन्धित शैक्षिक संस्थासँग समन्वय गरेर मात्र सञ्चालन गर्न दिने निर्णय गरेको कार्कीले बताउनुभयो । यस्तै कोभिड–१९ को खोप कार्यक्रम स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी संचालन गर्ने र अन्य जिल्लाबाट यस जिल्ला भई निषेधाज्ञा लागु नभएका जिल्लामा जाने सवारी साधन यस जिल्लामा यात्रु चढाउन र ओराल्न नपाउने गरी सहजीकरण गरिने बैठकले निर्णय गरेको छ ।

गत वैशाखदेखि सुरु गरिएको निषेधाज्ञामा असार मध्यदेखि केही खुकुलो बनाइँदै लगिएको थियो । तर, खुकुलोपन बढेसँगै कोरोना संक्रमण दर उल्लेख्य बढेको भन्दै साउन २८ गतेदेखि पुनः जिल्लाभर निषेधाज्ञा गरी कडाई गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बागलुङका अनुसार आज शुक्रबार जिल्लामा सक्रिय संक्रमितको संख्या ४ सय ९८ पुगेको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here