दुर्गमका स्वास्थ्य चौकीमा गुणस्तरीय सेवा थपिँदै

बागलुङ, १९ साउन । विगत तीन बर्षदेखि बागलुङको पश्चिम क्षेत्रमा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाले दुर्गम क्षेत्रका स्वास्थ्य संंस्थाको सेवालाई स्तरीय बनाउन सुरु गरेको छ ।

ठुला अस्पतालको पहुँच भन्दा धेरै टाढा रहेको स्वास्थ्य संस्थामा आवश्यक पर्ने अत्यावश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएर स्वास्थ्य चौकीको सेवालाई गुणस्तरीय बनाउन थालेको हो ।

परियोजनाले स्वास्थ्य सामग्री वितरण, प्रसुती प्रतिक्षा घर निर्माण, अपाङ्गता भएकाहरुको लागि शिविर तथा आवश्यक सहयोगी सामग्री तथा उपचार खर्च व्यवस्थापन, प्रसुती गृह सुधारको क्षेत्रमा काम गर्दै आएको छ ।

परियोजनामार्फत ११ वटा प्रसुती गृह निर्माण गरिएको छ । प्रत्येक प्रसुती गृहलाई दुई लाखको दरले सहयोग गरेको थियो । जसमध्ये ६ वटा नयाँ र पाँट वटालाई मर्मत गरिएको थियो । बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्र र हुग्दिशिर स्वास्थ्य चौकीलाई भिडियो एक्स–रे मेसिन प्रदान गरेको परियोजना विवाईसी बागलुङका अध्यक्ष मणीभद्र शर्माले बताउनुभयो । परियोजनाको स्थानीय व्यवस्थापन विवाईसीले गर्दै आएको छ ।

तीन बर्षमा बोङगादोभान, खुङखानी, बोवाङ, निसीखोला र बोहोरा गाउँ, हटिया, हुग्दिशिर र ग्वालीचौर स्वास्थ्य चौकीमा नेपाल सरकारले निर्धारण गरेको डि’ बर्गको स्वास्थ्य प्रयोगशाला निर्माणको लागि सामग्री खरिद गर्न दुई लाख ५० हजार रुपियाँको दरले आर्थिक सहयोग गरेको परियोजना अधिकृत जानकी पाठकले बताउनुभयो । नौ वटा स्वास्थ्य एक लाख ३० हजारको दरले भर्खर जन्मेको बच्चालाई न्यानो पार्ने ‘वेवी वार्मर मेशिन’, किरी, देवीस्थान, भण्डार वन, किटेनी, टुनीबोट, सिमाकमा गाउँघर क्लिनिको भवन निर्माण गरेको छ । स्थानीय तहको दुई लाख र परियोजनाको तर्फबाट दुई लाख गरी चार लाखमा दुई कोठे भवन निर्माण भएको पाठकले बताउनुभयो ।

निसीको बोहोरा गाउँमा परियोजनाकोतर्फबाट तीन र स्थानीय तहको दुई लाख गरी पाँच लाख लगानीमा प्रसुती प्रशिक्षा घर निर्माण गरिएको छ । बूर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रमा चार लाख र बडिगाडको खर्वाङ स्वास्थ्य चौकीमा ६० हजार रुपियाँ लगानी गरेर प्रतिक्षा घरको व्यवस्थापन गरेको प्रबन्धक बरुवालको भनाई छ । तीन बर्षको अवधिमा ३० हजारको दरले १८ वटा स्वास्थ्य संस्थामा संक्रमण रोकथामको लागि अटोकेलेप मेसिनसहितका सामग्री प्रदान गरिएको थियो । ‘बेडको अभावमा गुद्रीमा सुत्केरी गराउन बाध्य थियौँ,’ खुंगा सामुदायिक स्वास्थ्य इकाईका स्वास्थ्य सहायक हिरा गैरेले भन्नुभयो–‘संस्थाले बेड, वेवी वर्मर मेशिस जस्ता सामन दिए पछि धेरै सहज भएको छ ।’

ग्रामिण स्वास्थ्य सुधार परियोजना सबै स्थानीय तहमा विस्तार गर्ने निर्णय भएको छ । जिल्ला स्थित सरोकारावालाको बैठकले ग्रामिण स्वास्थ्य सुधारको क्षेत्रमा परियोजनाले गरेको काम उपभोक्ता मैत्री र आवश्यकतामुखी भएको हुँदा बाँकी रहेका चार स्थानीय तहमा पनि विस्तार गर्न माग गर्ने निर्णय भएको हो ।

यहाँ दश स्थानीय तह छन् । हाल ढोरपाटन नगरपालिका, बरेङ गाउँपालिका, गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, तमानखोला गाउँपालिका, र निसीखोला गाउँपालिकामा परियोजनाले काम गर्दै आएको छ ।

बागलुङ नगरपालिका, काठेखोला गाउँपालिका, ताराखोला गाउँपालिका र जैमिनी नगरपालिकामा कार्यक्रम विस्तार गर्न सरोकारवाला निकायले सुझाव दिएको ग्रामिण स्वास्थ्य सुधार परियोजनाका परियोजना प्रबन्धक गणेश बरुवालले जानकारी दिनुभयो । स्थानीय तहको माग बमोजिम कार्यक्रमको प्रस्ताव दातृ संस्था फेयरमेड फाउन्डेसनलाई सिफारिस गर्ने उहाँको भनाई छ । प्रस्ताव पास भएमा आउने सेप्टेम्बर महिनादेखि थप चार स्थानीय तहमा कार्यक्रम सञ्चालन हुनेछ ।

दुरदराजका स्वास्थ्य चौकीलाई आधुनिक सामग्रीसहित स्तरवृद्धिमा परियोजनाले महत्वूर्ण कार्यक्रम गरेको हुँदा बाँकी स्थानीय तहमा पनि कार्यक्रम विस्तार गर्न सुझाव दिएको जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here