आफ्नै रकेटमा अन्तरिक्ष घुमेर फर्किने यी हुन विश्वकै धनी व्यक्ति

तपाईंसँग अथाह पैसा भयो भने के गर्नुहुन्छ ? अथवा, तपाईं विश्वकै धनी व्यक्ति बन्नुभयो भने कहाँ घुम्न जानुहुन्छ ?

विश्वकै सर्वाधिक धनी व्यक्ति हुन्, अमेजनका मालिक जेफ बेजोस । उनी भर्खरै आफ्नै रकेटमा अन्तरिक्ष पुगेर आएका छन् । यो उनले धनी भएपछि बनाएको शोख भने होइन । धेरै पुरानो रहर हो ।

अमेरिकाको पश्चिम टेक्सासबाट उनी आफ्नो निजी कम्पनीको रकेटबाट अन्य तीनजना व्यक्तिसहित अन्तरिक्ष पुगेर आएका हुन् । बेजोसको आफ्नै रकेट कम्पनी छ, ब्लू ओरिजिन ।

‘मेरो जीवनकै सर्वोत्कृष्ट दिन’, रकेटबाट झरेपछि बेजोसले प्रतिक्रिया दिए । ब्लू ओरिजिनले निर्माण गरेको रकेटमा उनी अन्तरिक्ष पुगेर आएका हुन् । १०० किलोमिटरभन्दा केही माथि आकाशमा पुगेर आएका थिए, बेजोस ।

२० वर्षअघि स्थापना भएको ब्लू ओरिजिनले गरेको मानवसहितको यो पहिलो रकेट प्रक्षेपण थियो । कम्पनीले गरेको पहिलो मानवसहितको उडानमै आफु अन्तरिक्षमा जानुले बेजोसको ब्लू ओरिजिनप्रतिको लगाव र विश्वासलाई दर्साउँछ ।

मंगलबार साँझ ७ः१५ मा बेजोससहित चारजना अन्तरिक्ष पुगेर पृथ्वीमा ओर्लिएका हुन् । उनीहरुले न्यू सेफर्ड नामक रकेटमा यात्रा गरेका थिए । एलन सेफर्डको सम्मान सो रकेटको नामाकरण गरिएको हो ।

अन्तरिक्षको अलौकिकता भनेको ‘वेटलेसनेस’ हो । अर्थात् गुरुत्वाकर्षण शक्ति नहुनु । बेजोसको टिम सिटबेल्ट खोलेर चार मिनेट जति रकेटभित्र हावामा तैरिएको थियो ।

‘हामी सबै खुशीले पुलकित भएका छौं’, रकेट पृथ्वीतर्फ फर्किन थालेपछि बेजोसले माथिबाट भनेका थिए ।

उनीहरुको यात्रा १० मिनेटको मात्र थियो। लगभग १०० किलोमिटरभन्दा माथि गएपछि बाहिरी अन्तरिक्ष सुरु हुने मानिन्छ । उनीहरु बाहिरी अन्तरिक्षमा केही समय बिताएर फर्किएका हुन् ।

वास्तवमा अन्तरिक्षयात्रा उनको निकै पूरानो सोच हो । अन्तरिक्ष यात्राप्रतिको उनको लगाव देखेर धेरैले उनी अब अमेजनको जिम्मेवारी अरुलाई नै दिएर ब्लू ओरिजिनमा केन्द्रित हुने आकलन पनि गर्न थालेका छन् ।

उनकै नेतृत्वमा अमेजन विश्वकै अर्थतन्त्रको केन्द्र बन्न सफल भएको थियो । (एजेन्सीको सहयोगमा)

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here