आईफोन लुट्ने योजनामा साथीको हत्या !

बागलुङ, १० साउन । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको हत्या आफ्नै साथीहरुले आईफोन लुट्ने योजनाअन्तर्गत गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङले आईतबार पत्रकार सम्मेलन गरी लजिनको हत्या आईफोनको लागि साथीहरुले गरेको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको हो ।

प्रहरीले हत्या आरोपमा चार जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जनाएको छ । पक्राउ पर्नेमा बडिगाड गाउँपालिका वडा नं. १ का २० वर्षीय रेमबहादुर बिक, सोही ठाउँका १९ वर्षीय सुदीप बिक, १६ वर्षीय असिम वन र १५ वर्षीय ददि परियार छन् । शव नभेटिएपछि व्यक्ति बेपत्ता पार्नेमा कसुरमा उनीहरु संलग्न भएको आशङ्कामा प्रहरीले साउन ७ गते नै पक्राउ गरेर अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपि) फणिन्द्र प्रसाईले बताउनुभयो ।

काठमाडौंस्थित साइपल कलेजमा कक्षा ११ मा अध्ययनरत लजिन नागरिकता बनाउन करिब एक महिनाअघि घर आएका थिए । साउन १ गते राति साथी अशिम वनको जन्मदिन मनाउन दगातुन्डाँडा प्राथमिक विद्यालय पुगेका उनी त्यसपछि परिवारको सम्पर्कमा आएका थिएनन् । परिवारका सदस्यले १ गते राती फोन सम्पर्क गर्दा उनीसँग कुराकानी भएको भएपनि साउन २ गते बिहानदेखि उनी सम्पर्कविहीन भएका थिए ।

परिवारले व्यापक खोजी गर्दा पनि नभेटिएपछि साउन २ गते बेलुका प्रहरीमा बेपत्ता भएको जानकारी आएपछि साउन ३ गते विहानदेखि प्रहरीले घटनास्थल पुगेर खोजी गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका एसपि प्रसाईले बताउनुभयो । घटना शंकास्पद देखिएपछि एसपि प्रसाईको नेतृत्वमा टोली र प्रदेश प्रहरी कार्यालय गण्डकीको प्राविधिक टोली घटनास्थलमा खटिएको थियो ।

एसपि प्रसाईले अनुसन्धानका क्रममा जन्मदिन कार्यक्रममा सहभागी साथीहरूसँग सोधपुछ गर्दा उनीहरू सबैले सँगै बसेर सात जना साथीहरुले मदिरा सेवन गरी रात विताएको खुलेको बताउनुभयो । प्रहरीका अनुसार मादक पदार्थ सेवनपछि उनीहरू राति करिब साढे २ बजे घर फर्किएका थिए । फर्किने क्रममा लजिनको घर सवैभन्दा माथि रहेकोले र ददिम परियार र रेमबहादुर विक उनीसँगै माथिसम्म गएको अनुसन्धानबाट खुलेको एसपि प्रसाईको भर्नाइ छ । स्थानीय ढालबहादुर सुनारको पसल नजिक रहेको दोबाटो क्षेत्रमा पुगेपछि आईफोन लुट्ने योजना अन्तरगत लजिनमाथि आक्रमण गरिएको एसपि प्रसाईले बताउनुभयो ।

अनुसन्धानका क्रममा अशिम बनको साथबाट लजिन थापाको आईफोन बरामद भएको प्रहरीले एसपि प्रसाईले बताउनुभयो । प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार घटनाको मुख्य कारण लजिनसँग रहेको आईफोन रहेको देखिएको छ । काठमाडौंबाट घर आएपछि लजिनले प्रयोग गरिरहेको आईफोनप्रति पक्राउ परेका साथीहरूको चासो बढेको र पटक–पटक फोन माग्दा नदिएपछि लुट्ने योजना बनाएको अनुसन्धानबाट खुलेको एसपि प्रसाईले जानकारी दिनुभयो । उहाँले जन्मदिन मनाएर फर्किने क्रममा एकान्त स्थानमा पुगेपछि योजनाअनुसार आक्रमण गरी हत्या गरिएको र घटनालाई लुकाउन शव खोल्सासम्म पु¥याएर फालिएको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको बताउनुभयो ।

लजिनको शब साउन ९ गते बिहान बडिगाड गाउँपालिका–१ स्थित मनेखोलाको खोल्सामा फेला परेको छ । ड्रोन क्यामेराको प्रयोग गरेर गरिएको खोजीका क्रममा शव फेला परेको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा राखिएको छ ।